नेभिगेशन
देश

विद्यालय शिक्षा विधेयकले गरिब बालबालिकालाई शिक्षा सुनिश्चित गर्न सकेनः प्रा.डा. न्यौपाने

काठमाडौं, ९ भदौ।
अर्थविद् प्रा.डा. गोपीलाल न्यौपानेले विद्यालय शिक्षा विधेयकले गरिब वर्गका बालबालिकाको शिक्षा सुनिश्चित गर्न नसकेको बताएका छन्। सुधार आन्दोलन नेपालद्वारा आज रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले गरिबका लागि यो विधेयक आउनु वा नआउनुमा खासै भिन्नता नरहेको टिप्पणी गरे।

उनका अनुसार, हाल पनि विद्यालय उमेर समूहका करिब ८ लाख बालबालिका विद्यालय बाहिर छन्। हरेक वर्ष १२ देखि १५ लाख विद्यार्थीले कक्षा १ मा भर्ना भए पनि १० वर्षपछि तीमध्ये आधाले पढाइ बीचमै छाड्ने तथ्याङ्क रहेको उनले जानकारी दिए। तर, हालको विधेयकले यस समस्याको समाधान गर्न नसकेको उनले बताए।

प्रा. न्यौपानेले भने, “गरिबका छोराछोरी अझै पनि विद्यालय बाहिर छन्। यो विधेयकले उनीहरूको शिक्षा सुनिश्चित गर्ने कुनै प्रावधान राखेको छैन। त्यसैले यो विधेयक गरिबमुखी छैन र यस आउनु वा नआउनुमा तात्विक अन्तर छैन।”

उनले नेपालको शिक्षा प्रणालीलाई “पिरामिडजस्तो” भनेर चित्रण गरे। उनका अनुसार, कक्षा १ मा भर्ना हुने १२–१५ लाख विद्यार्थीमध्ये कक्षा १२ सम्म पुग्दा संख्यामा घटेर करिब १ लाख मात्र रहने अवस्था छ।

शिक्षा क्षेत्रमा रहेको समस्याबारे बोल्दै उनले भने, “नेपालमा एउटा समूह विद्यालयमै नपुग्ने, अर्का समूह विद्यालय छाड्ने, पढ्नेले पास नगर्ने, पास गर्नेले रोजगारी नपाउने अवस्था छ। यो विधेयकले यी समस्यामा समाधान ल्याउन सकेको छैन।”

विद्यालय तहमा वार्षिक करिब २ खर्ब रुपैयाँ बजेट छुट्याइने भए पनि ४५–५० प्रतिशत शिक्षकको तलबमै खर्च हुने र बाँकी रकममा पारदर्शिता नभएको उनको भनाइ छ। “मेरो अनुमानमा करिब १ खर्ब रुपैयाँ भ्रष्टाचारमै जाने गर्छ,” उनले दाबी गरे।

उनले हाल ल्याइएको विधेयकले पुरानै प्रणाली, नीति र कानुनलाई निरन्तरता मात्र दिएको भन्दै नयाँपन अनुभव गर्न नसकिने निष्कर्ष प्रस्तुत गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्