काठमाडौं, ९ भदौ ।
कवाड व्यवसायी समाज नेपालले ५ बुँदे माग अघि सार्दै आन्दोलन सुरु गरेको छ। सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले माग सम्बोधन नभएसम्म आन्दोलन निरन्तर गर्ने चेतावनी दिएका हुन्।
व्यवसायीहरूको प्रमुख मागमा संविधानले सुनिश्चित गरेको पेशा–व्यवसाय गर्ने हकको ग्यारेन्टी, काठमाडौं महानगरपालिका तर्फबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्य तत्काल रोक्नुपर्ने, यसमा संलग्न महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने विषय समावेश छन्।
त्यस्तै, व्यवसायी, संकलक र मजदुरको ज्यान–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तुरुन्त कदम चाल्नुपर्ने तथा विगत दुई वर्षमा महानगरले पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने मागसमेत उनीहरूले राखेका छन्।
पत्रकार सम्मेलनमा व्यवसायी ओम प्रकाश सिंहले अब निर्णायक आन्दोलनमा जाने घोषणा गरे। उनले भने, “हामी पछाडि हट्दैनौं, हाम्रो आन्दोलन सफल नहुन्जेल टुङ्गिँदैन।”
कवाड आन्दोलन संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले मेयर बालेन साहमाथि व्यवसायी हटाउन १५ करोड रुपैयाँ ‘टोकन मनी’ मागेको आरोप लगाए। उनले आफूहरू संवैधानिक अधिकार भित्र बसेर कर तिरेको बताए।
गुप्ताले मेयर साह र महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई चेतावनी दिँदै व्यवसायीलाई सम्मान गरेको तर अब आफूहरूलाई अस्तित्वमै संकटमा धकेलिएको दाबी गरे। उनका अनुसार, “यदि हामी सकिनु पर्ने हो भने, बालेन र राजु पाण्डे पनि बच्दैनन्।”
त्यसैगरी, कवाड व्यवसायी कृष्ण यादवले राज्यले आफ्नो व्यवसाय सुरक्षित गर्नुपर्ने आवश्यकता औंल्याए।
