काठमाडौं, ८ भदौ ।
देवनागरी लिपीको संरक्षणका पक्षमा आवाज उठाउँदै जाग नेपाली अभियानले रोमन लिपिमा आधारित इम्बोस्ड नम्बर प्लेटलाई बहिष्कार गर्न आम नागरिकलाई अपिल गरेको छ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक डा. दिपेश केसीले सरकारले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयमार्फत देवनागरी लिपीलाई समाप्त पार्ने खेल खेलिएको आरोप लगाए। उनले देवनागरी लिपीलाई देशको एकताको प्रतीक बताउँदै यसलाई मेटाउन खोज्नु जातीय, भाषिक र सांस्कृतिक विखण्डनतर्फ धकेल्ने षड्यन्त्र भएको बताए।
डा. केसीले भने, “तराई, पहाड र हिमालका प्रत्येक समुदायले बुझ्ने र अपनाउने यो लिपिलाई मेटाएर देशलाई विभाजन र हिंसातर्फ धकेल्ने प्रयत्न भइरहेको छ।”
अभियानका अनुसार नेपालका धर्म, संस्कृति, परम्परा, भाषा र लिपिमाथि योजनाबद्ध आक्रमण भइरहेको छ र त्यसको पछिल्लो लक्ष्य देवनागरी लिपी बनेको हो। इम्बोस्ड नम्बर प्लेट जडानको प्रक्रियामा अरबौँ रुपैयाँको कमिसन खेलिएको र राज्यका जिम्मेवार निकायहरुलाई समेत प्रभावित पारिएको दाबी समेत गरिएको छ।
जाग नेपाली अभियानले असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयलाई ‘इतिहासकै ठूलो राष्ट्रघात’ को संज्ञा दिंदै नागरिकलाई यसलाई अस्वीकार गर्न आग्रह गरेको छ। दशैंको मुखमा ल्याइएको यो निर्णयको विरुद्धमा अभियानले विभिन्न संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ।
कार्यक्रमअनुसार भदौ ९ र १० गते विभिन्न दल तथा संघ–संस्थामा ज्ञापनपत्र बुझाइने, ११ गते समाजका प्रतिष्ठित व्यक्तित्वहरुसँग परामर्श गरिने र भदौ १३ गते थप आन्दोलनका कार्यक्रम घोषणा गरिने बताइएको छ।
पत्रकार सम्मेलनमा अधिवक्ता रामेश्वर राउतले इम्बोस्ड नम्बर प्लेट लागू गर्ने क्रममा ५ खर्ब ४५ अर्ब ५५ करोड रुपैयाँ राज्यकोष हिनामिना भएको दाबी गर्दै संविधानले नागरिकलाई दिएको भाषा र संस्कृतिको अधिकार खोसिएको आरोप लगाए।
त्यसैगरी, नेपाल स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले इम्बोस्ड नम्बर प्लेट जडानको नाममा देवनागरी लिपीलाई समाप्त पार्ने षड्यन्त्र गरिएको बताए। उनले भने, “इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नु आपत्तिजनक होइन, तर त्यसका नाममा नेपाली भाषा र देवनागरी लिपिलाई समाप्त गर्ने खेल अस्वीकार्य छ।”
