नेभिगेशन
देश

नगर शिक्षा समितिको बैठक सम्पन्न : विद्यालयको नाम, कक्षा र विषय विस्तार, अनुमति खारेजी लगायत निर्णयहरू

काठमाडौं महानगरपालिकाको नगर शिक्षा समितिको हालै सम्पन्न बैठकले सामुदायिक र संस्थागत विद्यालयसँग सम्बन्धित विभिन्न नीतिगत विषयमा निर्णय तथा छलफल गरेको छ। बैठकमा विद्यालयको नाम र स्थान परिवर्तन, कक्षा तथा विषय थप, स्वामित्व हेरफेर, सञ्चालनमा नभएका विद्यालयहरूको अनुमति खारेजी, वैकल्पिक विद्यालय स्थानान्तरण, वार्षिक बजेट तथा शैक्षिक सुधारबारे विषय उठाइएको थियो।

बुधबार महानगर प्रमुख तथा समितिका संयोजक बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, शिक्षा तथा स्वास्थ्य समिति संयोजक चिनीकाजी महर्जन, कार्यपालिका सदस्य, शिक्षाविद्, विद्यालय प्रतिनिधि, अभिभावक सङ्घका पदाधिकारी तथा संस्थागत विद्यालयका प्रतिनिधिहरू सहभागी थिए।

बैठकले रानीदेवी माध्यमिक विद्यालय, काठमाडौं–३, रानीबारीलाई शैक्षिक सत्र २०८२ देखि कक्षा १० सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ। त्यस्तै, पशुपति मित्र, गीतामाता, जनकल्याण, जनपथ र नेपाल आदर्श माध्यमिक विद्यालयलाई प्राविधिक धार अन्तर्गत कक्षा १२ मा सिभिल र कम्प्युटर इन्जिनियरिङ विषय थप गर्न स्वीकृति दिइएको छ। संस्थागत विद्यालयको कक्षा तथा विषय विस्तारका लागि १२ विद्यालयलाई अनुमति दिने प्रस्तावमाथि पनि छलफल भएको छ।

नाम परिवर्तनका लागि कागजात बुझाएका २१ विद्यालयलाई अनुमति दिइएको छ भने ३५ दिने सूचना अवधि पूरा नभएका केही विद्यालयको निर्णय पछि हुने भएको छ। साथै, महानगर क्षेत्रभित्र दर्ता भएर सञ्चालनमा नभएका संस्थागत विद्यालयहरूको अनुमति खारेज गर्न शिक्षा विभागले स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्नेछ। वैकल्पिक विद्यालयहरू — महिला ज्योति, जायना र जेम्स नमूनालाई स्थानान्तरण अनुमति दिइएको छ।

कागजमा मात्र रहेको तर फिल्डमा सञ्चालनमा नआएका विद्यालयहरूको अनुमति खारेज गर्ने प्रक्रिया सुरु गर्ने, र संस्थागत विद्यालय स्थानान्तरणका लागि आवश्यक मापदण्ड तयार गरी आगामी बैठकमा पेस गर्ने जिम्मेवारी शिक्षा तथा स्वास्थ्य समितिलाई दिइएको छ।

त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ को शिक्षा बजेट, ‘बुक फ्री फ्राइडे’ कार्यक्रमको प्रभावकारिता, उपयोगिता र आवश्यक सुधारबारे प्रतिवेदन १५ दिनभित्र पेश गर्न शिक्षा तथा स्वास्थ्य समितिलाई निर्देशन दिइएको छ। सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि डा. सुरजराज काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ, जसले विद्यालय सञ्चालन मापदण्ड, स्रोत र सामाजिक नक्साङ्कन, भौतिक संरचना, शैक्षिक गुणस्तर तथा दीर्घकालीन योजना सम्बन्धी सुझावसहित प्रतिवेदन पेश गर्नेछ।

प्रारम्भिक बाल विकासको अभिलेखीकरण र विधान दर्ता प्रक्रियाबारे शिक्षा विभागले अध्ययन गरी आवश्यक कार्य अघि बढाउने पनि बैठकले निर्णय गरेको छ।

WhatsApp-Image-2025-08-14-at-20.55.33_5a058bc2-1755176058.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्