काठमाडौं, साउन २७
एनसेल फाउण्डेसन, इन्टरनेशनल काउन्सिल फर म्युजियम (आइकम) नेपाल र नारायणहिटी दरबार संग्रहालयको सहकार्यमा संग्रहालयसम्बन्धी आधारभूत मान्यता, राष्ट्रिय–अन्तर्राष्ट्रिय अभ्यास र इतिहासका विभिन्न आयाम समेटिएको अनुसन्धानमूलक जर्नल ‘संग्रहालय’ विमोचन गरिएको छ।
नारायणहिटी दरबार संग्रहालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जर्नल सार्वजनिक गर्दै, नेपालका संग्रहालयको विविधता र महत्त्व उजागर गर्न यस प्रकाशनले ठूलो भूमिका खेल्ने बताए। उनले संग्रहालय र सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा निजी क्षेत्रको सक्रियता सराहनीय भएको उल्लेख गरे। मन्त्री पाण्डेले हाल सरकारले संग्रहालय दर्ता, मापदण्ड र व्यवस्थापनसम्बन्धी नीति निर्माणमा काम गरिरहेको जानकारी पनि दिए।
एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले कला र संस्कृति नेपालको पहिचान भएको बताउँदै, सांस्कृतिक संरक्षण एनसेल फाउण्डेसनको प्राथमिकतामा रहेको स्पष्ट पारिन्।
कार्यक्रममा युनेस्कोका नेपाल प्रतिनिधि याको दु तोइले संग्रहालयको भूमिका सांस्कृतिक प्रवर्द्धन, शिक्षा र सामुदायिक संवादमा महत्त्वपूर्ण रहेको बताउँदै यसको दायरा अझ बढाउनुपर्ने आवश्यकता औँल्याए। आइकम नेपालका अध्यक्ष रमेशप्रसाद दवाडीले संस्था संस्कृति संरक्षणमा निरन्तर सक्रिय रहने बताए।
यो जर्नल, एनसेल फाउण्डेसनको सहयोगमा आइकम नेपालले एक वर्षे परियोजना ‘संग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवर्द्धन’ अन्तर्गत तयार गरेको हो। परियोजनामा संग्रहालयबारे जनचेतना अभिवृद्धि, संग्रहालयकर्मीलाई तालिम, र स्रोत सामग्री निर्माण तथा वितरण जस्ता गतिविधि समावेश थिए।
परियोजनाका क्रममा बागमती, लुम्बिनी र गण्डकी प्रदेशका सयभन्दा बढी संग्रहालयकर्मीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सञ्चालन र नेपालको आवश्यकता अनुरूपको अभ्यासबारे तालिम दिइएको थियो। यसले संघीय, प्रदेश र स्थानीय सरकार, समुदाय र निजी संग्रहालयबीच समन्वयलाई सुदृढ बनाएको बताइयो।
यस्तै, नेपालमा संग्रहालयको स्थापना कालदेखि हालसम्मको यात्रा समेटिएको एक श्रव्य–दृश्य वृत्तचित्र पनि निर्माण गरिएको छ। यो पहल संस्कृति मन्त्रालय, प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा सम्पन्न भएको हो।
सरोकारवालाहरूका अनुसार, सरकारले तोकेको संस्कृति तथा संग्रहालयसम्बन्धी नीति र दिगो विकासका लक्ष्यलाई यस परियोजनाले सहयोग पुर्याएको छ। सहभागीहरूले यस्ता प्रभावकारी कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिनुपर्नेमा जोड दिए। साथै, एनसेल र आइकमबीचको सहकार्यले निजी क्षेत्रका अन्य संस्थालाई पनि सम्पदा संरक्षणमा सक्रिय हुन प्रेरणा दिने विश्वास व्यक्त गरियो।