नेभिगेशन
देश

वित्तीय सचेतनाका लागि चन्द्रपुरमा ‘ग्लोबल मनी वीक’

रौतहट । ‘स्मार्ट मनी टक्स’ भन्ने मूल नाराका साथ रौतहटको चन्द्रपुरमा विभिन्न बैङ्क, वित्तीय संस्था, सहकारी तथा बिमा कम्पनीले ‘ग्लोबल मनी बिक २०२६’ भव्य रूपमा मनाएका छन् ।

शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बिच वित्तीय सचेतना र सामाजिक उत्तरदायित्वका कार्यहरू सम्पन्न गरिएको हो ।

सन् २०१२ देखि सुरु भएको यो अन्तर्राष्ट्रिय अभियान यस वर्ष विश्वका १७६ भन्दा बढी राष्ट्रहरूमा मनाइँदै छ ।

नेपालमा पनि चैत २ गतेदेखि ८ गतेसम्म साताव्यापी रूपमा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन् । चन्द्रपुरमा आयोजित यो कार्यक्रम यस अभियानको १४ औँ संस्करण हो ।

कार्यक्रमको मुख्य उद्देश्य सर्वसाधारणमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने र आम्दानीको केही हिस्सा बचत गर्ने बानीको विकास गराउनु रहेको सानिमा बैङ्क चन्द्रपुर शाखाका म्यानेजर प्रशान्त राउतले जानकारी दिए ।

उनका अनुसार व्यक्तिगत आर्थिक अवस्था सुधार गर्न बचत, लगानी र सही वित्तीय व्यवस्थापनबारे नागरिकलाई जागरूक बनाउन यो अभियान सञ्चालन गरिएको हो ।

सचेतना कार्यक्रममा सहभागीहरूले वित्तीय अनुशासन, सुरक्षित बचत र डिजिटल कारोबारको महत्वबारे जानकारी गराएका थिए । विशेष गरी युवा पुस्तालाई लक्षित गर्दै आम्दानीको सही व्यवस्थापन, ऋणको जिम्मेवार प्रयोग तथा अनलाइन ठगीबाट बच्ने उपायहरूका बारेमा समेत प्रशिक्षण दिइएको थियो। उनीहरूले ‘सोचेर खर्च गरौँ, भविष्य सुरक्षित बनाऔँ’ भन्ने सन्देश प्रवाह गरेका थिए ।

यसै अवसरमा अभियानमा सहभागी विभिन्न वित्तीय संस्थाका कर्मचारीले चन्द्रपुर अस्पताल पुगेर रक्तदान समेत गरेका थिए । वित्तीय साक्षरतासँगै मानवीय सेवामा पनि योगदान पु¥याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको सहभागीहरूले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्