काठमाडौं, साउन १९ – चीनसँगको कुटनीतिक सम्बन्धलाई प्रभावकारी बनाउन र त्यसबाट राजनीतिक तथा आर्थिक लाभ उठाउन नेपालले सक्रिय कूटनीति अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले दुई देशबीचको सम्बन्ध, सहकार्य र भविष्यका सम्भावनामाथि विचार प्रस्तुत गरेका हुन्।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले नेपाल र चीनले योजनाबद्ध विकास यात्रा एकै समयमा सुरु गरे पनि आर्थिक उन्नति र प्रतिव्यक्ति आयमा नेपाल निकै पछि परेको उल्लेख गरे। उनले अब विकासलाई प्राथमिकतामा राख्दै चीनबाट प्रविधि र आर्थिक सहयोगको भरपुर उपयोग गर्नुपर्ने बताए।
कुटनीतिज्ञ प्रा. डा. भेषराज घिमिरेले चीनसँगको आर्थिक कूटनीति सुदृढ गर्न नेपालले विशेष ध्यान दिनुपर्ने धारणा राखे। उनले चीनले कहिल्यै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको स्मरण गराउँदै, चीनले सहयोग गर्ने चाहना राखे पनि नेपालका सरकार र राजनीतिक दलहरूले त्यसको लाभ लिन नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए।
कार्यक्रममा साहित्यकार नन्दु उप्रेतीले हालै सम्पन्न चीन भ्रमणको अनुभव साझा गर्दै त्यहाँको जीवनशैली, सामाजिक रूपान्तरण र समृद्धिको यात्राबारे जानकारी दिएका थिए।
फ्रेन्डस अन क्लाउडका अध्यक्ष शोभित उप्रेतीले नेपाल–चीन सम्बन्धलाई अटुट, भरपर्दो र दीर्घकालीन बनाउन दुवै पक्षले एक–अर्काका संवेदनशीलता र चासोको सम्मान गर्नुपर्ने बताए।
कार्यक्रममा वक्ताहरूले राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा नेपाल–चीन सम्बन्धलाई अझ प्रभावकारी बनाउँदै परस्पर सहयोग र समझदारीको वातावरण मजबुत पार्नुपर्नेमा एकमत व्यक्त गरेका थिए।