काठमाडौं — प्राइम टिभीका अध्यक्ष तथा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले विद्यार्थीलाई केवल किताबमै सीमित नहुन सुझाव दिएका छन्। उनले पाठ्यक्रमीय ज्ञानसँगै बाहिरी ज्ञान पनि हासिल गर्न आवश्यक रहेको बताए।
नेपाल पुलिस क्लबको सभाहलमा आयोजित मनास्लु वर्ल्ड कलेजको कक्षा ११ का नयाँ विद्यार्थीहरूको लागि आयोजित ओरिएन्टेशन कार्यक्रममा बोल्दै धमलाले संसारमा असम्भव भन्ने केही नभएको उल्लेख गरे।
धमलाले विद्यार्थीहरूलाई देशको भविष्य भन्दै मेहनत र लगनशीलतासाथ पढाइमा लाग्न प्रेरणा दिए। उनले शिक्षा क्षेत्रमा मनास्लु कलेजले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै यस कलेजलाई विद्यार्थीहरूको पहिलो रोजाइका रूपमा चित्रित गरे।
“देश निर्माणको जिम्मेवारी अबको पुस्ताको काँधमा छ,” भन्दै धमलाले युवालाई महत्वाकांक्षी बन्न आग्रह गरे। तर, महत्वाकांक्षा राख्दा त्यसको सीमा बुझ्नुपर्नेमा उनले जोड दिए।
उच्च गुणस्तरीय शिक्षाको प्रशंसा गर्दै धमलाले मनास्लु कलेजले व्यावसायिकताको सट्टा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिएको उल्लेख गरे। उनले सफलताको मूलमा त्याग, तपस्या र निरन्तर मिहिनेत रहने भन्दै विद्यार्थीलाई आफ्नो क्षमताको दायरा फराकिलो बनाउन आग्रह गरे।