थारु विद्यार्थी समाज (थाविस) केन्द्रीय समितिले शनिबार ललितपुरको कुपण्डोलस्थित नाइटिङ्गेल कलेजमा एसईईमा उत्कृष्ट नतिजा ल्याएका थारु समुदायका विद्यार्थीहरूलाई सम्मान गरेको छ। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी प्रमुख अतिथिको रूपमा सहभागी थिए।
समाजका अध्यक्ष विमल चौधरीले कार्यक्रम सम्मान समारोह थारु समुदायका युवालाई शैक्षिक क्षेत्रमा थप प्रेरित गर्न आयोजित गरिएको बताए।
समारोहमा एसईईमा उत्कृष्ट श्रेणीमा उतीर्ण भएका विद्यार्थीहरूलाई प्रमाणपत्र, खादा र पुरस्कार प्रदान गरिएको थियो। विशेषगरी, ४.० जीपीए प्राप्त गरेका तीन जना विद्यार्थीमध्ये दुई — कपिलवस्तुकी प्रिशिला थारू र सप्तरीकी तेजिना चौधरी — कार्यक्रममा उपस्थित भई नगदसहित सम्मानित भए। कैलालीका एक जना अनुपस्थित विद्यार्थीको सम्मानपत्र भने जानकी गाउँपालिकाका प्रशासकीय अधिकृत आशिष चौधरीमार्फत प्रदान गरिएको समाजले जानकारी दिएको छ।
कार्यक्रमलाई थप आकर्षक बनाउन थारु सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो। प्रचारप्रसार संयोजक उदयनारायण चौधरीका अनुसार, सांस्कृतिक कार्यक्रमले समारोहलाई थप प्रभावशाली बनाएको थियो।
पूर्व पदाधिकारी आशिष चौधरीले 'मोटिभेशन स्पिच' मार्फत उत्तीर्ण विद्यार्थीहरूलाई मार्गदर्शन प्रदान गरे। अध्यक्ष विमल चौधरीले सम्मानित विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको भविष्यको शैक्षिक यात्राको लागि शुभकामना व्यक्त गरे।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका सभापति प्रेमीलाल चौधरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी, कांग्रेस नेता जनकराज चौधरीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
थारु विद्यार्थी समाजले आफ्नो स्थापना दिवसको अवसरमा हरेक वर्ष यस्तो सम्मान कार्यक्रम गर्दै आएकोमा, यस वर्ष ३०औं स्थापना दिवसभन्दा केही पहिले नै यो कार्यक्रम सम्पन्न गरिएको थियो।





