नेभिगेशन
देश

एसईईमा उत्कृष्ट प्रदर्शन गर्ने थारु विद्यार्थीहरू आज सम्मानित हुँदै, कार्यक्रमका प्रमुख अतिथि खेलकुदमन्त्री तेजुलाल चौधरी हुने

थारु विद्यार्थी समाज केन्द्रीय समितिले शनिबार आज एसईईमा उत्कृष्ट नतिजा ल्याउने थारु समुदायका विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रमको आयोजना गर्ने भएको छ।

समाजका अध्यक्ष विमल चौधरीका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ। सम्मान कार्यक्रम ललितपुरको कुपण्डोलस्थित नाइटिङ्गेल स्कुलमा बिहान ११ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन्।

उत्कृष्ट श्रेणीमा उतीर्ण भएका विद्यार्थीहरूलाई बधाईसहित सम्मानपत्र र पुरस्कार प्रदान गरिनेछ। अध्यक्ष चौधरीका अनुसार देशभरबाट गूगल फर्ममार्फत नाम दर्ता गराएका ६० भन्दा बढी थारु विद्यार्थीहरूले कार्यक्रममा सहभागिता जनाउने छन्।

कार्यक्रमलाई थप आकर्षक बनाउन सांस्कृतिक प्रस्तुति समेत समावेश गरिएको छ। प्रचारप्रसार संयोजक उदयनारायण चौधरीका अनुसार, सांस्कृतिक कार्यक्रममा दर्जनभन्दा बढी कलाकारहरूले प्रस्तुति दिनेछन्।

थारु विद्यार्थी समाजले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष यस्तो सम्मान कार्यक्रम गर्दै आएको छ। यद्यपि यसपटक कार्यक्रम अलि छिटो आयोजना गरिएको हो। समाजको ३० औं स्थापना दिवस भदौ १६ गते पर्न आउने जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्