नेभिगेशन
देश

‘उज्यालो नेपाल’ अभियानमा युवा सहभागिताको आह्वान: कुलमान घिसिङ

काठमाडौं, नेपाल — नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले सुरु गरेको ‘उज्यालो नेपाल’ अभियानमा युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय युवा संसदले बिहीबार राजधानीमा आयोजना गरेको घोषणा सभा तथा शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै घिसिङले देशको समृद्धिको यात्रामा युवा पुस्ताले नेतृत्व लिनुपर्नेमा जोड दिए।

बहराइनबाट आरम्भ भएको ‘उज्यालो नेपाल’ अभियानलाई अघि बढाउँदै उनले नेपाली युवालाई देशको आर्थिक, सामाजिक तथा ऊर्जा विकासमा योगदान पुर्‍याउन आग्रह गरे। कार्यक्रममार्फत उनले आफ्नो जीवन यात्रा, ऊर्जा क्षेत्रमा गरेका सुधार प्रयासहरू र विदेशमा रहेका नेपालीहरूको भूमिकालाई जोड्दै समृद्ध नेपालको परिकल्पना प्रस्तुत गरे।

"देश निर्माणको जिम्मेवारी अबको पुस्ताले लिनुपर्छ," उनले भने, "नेपालमा केही हुँदैन भन्ने निराशावादी सोच बदल्नुपर्छ।" युवाहरूलाई आत्मविश्वासी र उत्तरदायी बन्न प्रेरित गर्दै घिसिङले ‘लिसन, लर्न एण्ड लिड’ (सुन, सिक र नेतृत्व गर) को मन्त्र स्मरण गराए।

WhatsApp-Image-2025-07-25-at-17.23.54_ee320cb0-1753432207.jpg
पूर्व कार्यकारी निर्देशकको हैसियतले विद्युत क्षेत्रमा सुधार ल्याउने क्रममा उनले लोडसेडिङ अन्त्य, प्राधिकरणलाई नाफामा रूपान्तरण, र विद्युत् पहुँच विस्तारको उपलब्धिहरू स्मरण गराए। तर उनले प्रष्ट पारे कि "बत्ती पुगेकै भरमा समृद्धि सम्भव हुँदैन, देशका अन्य क्षेत्रका अँध्यारोलाई पनि उज्यालोमा रूपान्तरण गर्नु जरुरी छ।"

घिसिङले आफू अब कुनै राजनीतिक पदमा इच्छुक नरहेको जनाउँदै बाँकी जीवन ‘उज्यालो नेपाल’ अभियानलाई समर्पण गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनका अनुसार राजनीतिक परिवर्तन धेरै भए पनि विकास नेतृत्वको कमीले अपेक्षित परिणाम हासिल गर्न नसकिएको हो। "राजनीतिक नेतृत्व मात्र पुग्दैन, कार्यान्वयनमा सक्षम नेतृत्व चाहिन्छ," उनले उल्लेख गरे।

खाडी मुलुकहरूमा हालैको भ्रमणबाट प्राप्त अनुभव साझा गर्दै उनले १५ लाखभन्दा बढी नेपाली युवाको श्रमले देशको अर्थतन्त्र चलेको तथ्य स्मरण गराए। "जीडीपीको ठूलो हिस्सा रेमिटेन्सबाट आउँछ, तर श्रमिकको सम्मान अझै सुनिश्चित हुन सकेको छैन," घिसिङले भने।

उनले विदेशमा सिप र अनुभव हासिल गरेका युवाहरूलाई देश फर्केर योगदान दिन प्रेरित गर्दै, त्यसको लागि अनुकूल वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा सहभागी १६५ जना युवा सांसदहरूसँग सम्वाद गर्दै उनले भने, “अब तपाईंहरू अभ्यासमा मात्रै होइन, नेतृत्वमा जानुपर्छ। स्रोत र साधन त छ, अब व्यवस्थापन गर्न सक्ने नेतृत्व आवश्यक छ, र त्यो तपाईंहरूबाट सुरु हुन्छ।”

कार्यक्रममा क्याप्टेन विजय लामा, नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा लगायत वक्ताहरूले पनि मन्तव्य दिएका थिए।

अमेरिका तथा युरोप भ्रमण

यसैबीच, घिसिङ आगामी साता अमेरिका तथा युरोपको भ्रमणमा निस्कन लागेका छन्। उनी र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई जुलाई २७ मा न्यू योर्कमा ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने कार्यक्रम छ। त्यसपछि उनले टेक्सास र वाशिंगटन डीसी भ्रमण गर्नेछन्। अगस्त महिनामा भने उनले बेलायतसहित अन्य युरोपेली देशहरूमा विभिन्न कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

WhatsApp-Image-2025-07-25-at-17.23.53_84d900fe-1753432206.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्