नेभिगेशन
देश

जलवायु परिवर्तन र विपद्का मुद्दालाई एकीकृत रूपमा हेर्ने माग, युवालाई नेतृत्वदायी भूमिकामा ल्याउन जोड

काठमाडौँ, नेपाल – जलवायु परिवर्तन र विपद् व्यवस्थापनका विषयमा युवाको सक्रिय र प्रभावकारी सहभागिता आवश्यक रहेकोमा सरोकारवालाहरू एकमत भएका छन्।

जागृति बाल तथा युवा सरोकार नेपाल र ब्रिटिश काउन्सिलको सहकार्यमा राजधानीमा आयोजित "विपदमैत्री तथा जलवायु उत्तरदायी शासनका लागि युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित तथा प्रवर्द्धन" विषयक कार्यक्रममा युवाहरूले वातावरणीय मुद्दालाई साझा दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकतामा जोड दिए।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभाको निर्देशक सिद्धान्त, नीति तथा दायित्व अनुगमन समितिका सभापति ठाकुर गैरेले तापक्रमको निरन्तर वृद्धिले हिमालय क्षेत्रका हिउँ पग्लन थालेको र महासागरसम्म असर देखिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै जलवायु परिवर्तन र विपद्लाई छुट्टाछुट्टै नभई एक साझा संकटका रूपमा सम्बोधन गर्नुपर्ने बताए।

गैरेले कार्बन उत्सर्जनमा न्यून भूमिका रहेको नेपालजस्तो मुलुकमा जलवायु परिवर्तनको असर बढी देखिएको भन्दै यस विषयमा युवालाई जानकार बनाउँदै जलवायु न्यायको अभियानमा सामेल गराउन आफू प्रतिबद्ध रहेको उल्लेख गरे। साथै, उनले एसियाली सांसदहरूको सहभागितामा क्षेत्रीय समिति गठनको तयारी अन्तिम चरणमा पुगेको जानकारी पनि दिए।

कार्यक्रममा सांसद गरिमा शाहले तराई क्षेत्रलाई वर्षात्को समयमा नै सुख्खा प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने अवस्थाले खाद्य संकटको खतरा निम्त्याएको भन्दै नेपालका विकास नीति र योजनामा पुनरावलोकन आवश्यक रहेको धारणा व्यक्त गरिन्।

WhatsApp-Image-2025-07-25-at-05.32.24_1866ed00-1753431687.jpg
बाल अधिकार संसदीय मञ्चकी प्रमुख सीता रानाले जलवायु परिवर्तनका असरहरू सबै उमेर समूहलाई एकैसाथ पर्ने भएकाले स्थानीय तहदेखि नै सचेतनामूलक पहल आवश्यक रहेको बताइन्।

ब्रिटिश काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले जलवायु परिवर्तन जस्तो विश्वव्यापी संकटमा युवाको भूमिका सुनिश्चित गर्न जागृति बाल तथा युवा सरोकार नेपालसँगको सहकार्यले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

जल तथा मौसम विभागकी मौसम विज्ञ डा. इन्दिरा कँडेलले देशभर ५०० वर्षा मापन यन्त्र, २५० जल मापन यन्त्र र मौसम राडारमार्फत जलवायु जोखिमको पूर्वजानकारी दिन थालिएको र यसले विपद् न्यूनीकरणमा टेवा पुर्‍याइरहेको जानकारी दिइन्।

अनुसन्धानकर्ता अमृत देवकोटाले कार्यपत्र प्रस्तुत गर्दै जलवायु परिवर्तन विश्वव्यापी साझा मुद्दा भएकोले स्थानीयदेखि विश्वस्तरसम्म एकजुट प्रयासको खाँचो रहेको बताए।

राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठले १६औं योजनामा जलवायु मुद्दालाई प्राथमिकता दिइएको उल्लेख गर्दै कार्यान्वयनका लागि सबै पक्षको समन्वय आवश्यक रहेको बताए।

त्यस्तै, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले तयार हुँदै गरेको "यूथ भिजन–२०३५" अन्तर्गत जलवायु र विपद् व्यवस्थापनलाई प्राथमिकताका रूपमा समेटिने जानकारी दिए।

गैरसरकारी संस्था महासंघका उपमहासचिव भवराज रेग्मीले हरित अर्थतन्त्रमा युवा सहभागिता विस्तार गर्न सके स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने धारणा राखे।

सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालले जलवायु विषयमा सञ्चालित जनचेतनामूलक अभियानले स्थानीय युवा र किशोरहरूमा सकारात्मक अभ्यास सुरु गराएको बताए।

जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले माडी, सुनवल, मध्यविन्दु र तिलोत्तमा नगरपालिका क्षेत्रका युवामाझ जलवायु र विपद् सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

कार्यक्रममा आठ संसदीय समितिका २० जना सांसदहरूको उपस्थिति थियो। उनीहरूले जलवायु परिवर्तन र विपद् व्यवस्थापनका विषय संसदमा प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाए।

युवा अभियन्ता कला बस्यालले सुनवलमा सञ्चालित अभियानबाट तयार पारिएको ध्यानाकर्षण पत्र सभापति गैरेलाई हस्तान्तरण गरे। सो पत्रमा समावेशी विपद् प्रतिकार्य, जलवायु उत्तरदायी शासन, युवामैत्री कार्यक्रम, नीति निर्माणमा युवाको सहभागिता लगायतका ११ बुँदाहरू समेटिएका छन्।

WhatsApp-Image-2025-07-25-at-05.32.25_b980e9e6-1753385868.jpg
WhatsApp-Image-2025-07-25-at-05.32.25_e9d1f94f-1753385867.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्