नेभिगेशन
राजनीति

पूर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमा रोक लगाउनु संविधानविपरीत होः एमाले नेता कर्ण थापा

काठमाडौं, साउन ७
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री कर्णबहादुर थापाले पार्टीले संविधान, कानून र जनताको बहुदलीय जनवाद (जबज) को मर्मविपरीत पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन रोक लगाएको आरोप लगाएका छन्।

थापाका अनुसार उक्त एजेन्डा न त एमाले केन्द्रीय समितिको प्रस्तावमा थियो, न नै छलफलको विषय, तर त्यसलाई जबर्जस्ती उठाएर पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिबाट रोकिएको हो। उनले यस निर्णयले जबजको सिद्धान्त र खुला राजनीतिक प्रतिस्पर्धाको भावना विपरीत काम भएको बताए।

उनले पार्टीमा फरक मतलाई स्थान नदिने, बहस र प्रतिस्पर्धालाई कमजोर बनाउने प्रवृत्ति बढेको गुनासो गरे। भण्डारीलाई रोक्ने निर्णयमा आफूले 'नोट अफ डिसेन्ट' लेखेको पनि उनले जानकारी दिए।

थापाले पूर्व राष्ट्रपति वा उपराष्ट्रपतिलाई राजनीतिमा संलग्न हुन रोक्ने बहस संविधान निर्माणका क्रममा भए पनि त्यो जन्मसिद्ध अधिकारमाथि प्रतिबन्ध हुने भन्दै अस्वीकार्य रहेको स्पष्ट पारे। उनका अनुसार राजनीतिमा सक्रिय हुने वा नहुने निर्णय व्यक्तिगत स्वतन्त्रताको विषय हो र त्यसलाई कुनै कानुन वा नैतिकताको चश्माबाट हेरिनु हुँदैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्