नेभिगेशन
राजनीति

भ्रष्टाचार नियन्त्रणका लागि चेकमा मन्त्रीको हस्ताक्षर अनिवार्य गरौंः राजेन्द्र श्रेष्ठ

काठमाडौं, साउन ७ । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारी भुक्तानीका चेकमा मन्त्रीको हस्ताक्षर अनिवार्य गरिनु पर्ने आवश्यकता औंल्याएका छन्। भ्रष्टाचार नियन्त्रण गर्न यस्तो व्यवस्था आवश्यक भएको उनको भनाइ छ।

श्रेष्ठका अनुसार हालको प्रणालीमा मन्त्रीले आदेश दिएपछि कर्मचारीले भुक्तानी गर्ने चलन रहेको छ, जसले गर्दा भ्रष्टाचार बढ्ने अवस्था सिर्जना भएको छ। उनले चेकमा मन्त्रीको हस्ताक्षर नहुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत मन्त्रीलाई प्रत्यक्ष जिम्मेवार बनाउन नसक्ने अवस्था रहेको बताए।

"नेपालमा भ्रष्टाचार किन मौलायो? टेप काण्डजस्ता घटनाहरू किन दोहोरिन्छन्? भन्ने प्रश्नको जरो नेपालको संवैधानिक र कानुनी संरचनासँग जोडिएको छ," श्रेष्ठले भने। दुई पटक मन्त्री र दुई पटक सांसद भइसकेका श्रेष्ठले मन्त्रीहरूले नीतिगत निर्णय गर्ने तर कार्यान्वयनको जिम्मा सचिवहरूमा हुने व्यवस्था नै भ्रष्टाचारको स्रोत भएको तर्क गरे।

"फाइल वा चेक हेर्दा पनि मन्त्रीको हस्ताक्षर देखिँदैन। सारा प्रक्रिया कर्मचारीहरूमै केन्द्रित हुन्छ। चेकमा जसको सही हुन्छ, अख्तियार त्यसैलाई अनुसन्धान गर्छ," उनले स्पष्ट पारे।

अर्को प्रसंगमा बोल्दै श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी कार्यकारी राष्ट्रपतिको एजेण्डा लिएर राजनीतिमा फर्किन चाहे रेड कार्पेट ओच्छ्याएर स्वागत गर्नुपर्ने बताए। उनले भने, "विद्यादेवी भण्डारी राजनीतिमा फर्कन्छिन् वा फर्किन्नन् भन्ने कुरामा कुरा उहाँको मुख्य एजेण्डा के हो भन्नेमा भर पर्छ। यदि उहाँ कार्यकारी राष्ट्रपतिको पक्षमा हुनुहुन्छ भने हामी स्वागत गर्न तयार छौं।"

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्