नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी पहिलो औपचारिक आचारसंहिता सार्वजनिक गरिएको छ। अनलाइन टिभी पत्रकार संघले "अनलाइन टिभी एआई आचार संहिता २०८२" नामक दस्तावेज जारी गर्दै नेपालमा एआई नियमनको दिशामा ऐतिहासिक कदम चालेको हो।
सोमबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा संघका अध्यक्ष जीवन भण्डारीले १२ बुँदामा आधारित आचारसंहिता सार्वजनिक गरे। उनले एआई प्रविधिको दुरुपयोग नियन्त्रण गर्दै यसको जिम्मेवार प्रयोग सुनिश्चित गर्न यस्तो संहिता आवश्यक रहेको बताए।
भण्डारीका अनुसार अनलाइन टिभी क्षेत्रमा एआईको प्रयोग तीव्र गतिमा बढ्ने संकेत देखिएकाले सञ्चारकर्मीहरुलाई समयमै सचेत र उत्तरदायी बनाउने उद्देश्यले यो संहिता तयार पारिएको हो। मिडियामा एआईको प्रयोग गर्ने पहिलो अभ्यासकर्ता मध्ये एक भण्डारीले यसैलाई नेपालमा एआईसम्बन्धी पहिलो आचारसंहिता भएको दाबी पनि गरे।
सूचना प्रविधिमा अग्रणी संस्था क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले पनि यो संहितालाई नेपालको पहिलो एआई आचारसंहिता भएको पुष्टि गरे। उनले हालसम्म कुनै अन्य संस्था वा निकायले यस्ता निर्देशिका सार्वजनिक नगरेको जानकारी दिए।

"अनलाइन टिभी पत्रकार संघको यो कदम अनुकरणीय छ," अधिकारीले भने, "यस्ता अभ्यास अब सबै क्षेत्रमा अपरिहार्य भइसकेका छन्।" उनले संहिताले प्रस्तावित "राष्ट्रिय एआई नीति २०८१" को मर्म र उद्देश्यलाई पनि ध्यानमा राखेको उल्लेख गरे।
संहिताको पहिलो बुँदामा, एआईको प्रयोगबाट तयार गरिएका सामग्रीहरुको अन्तिम परीक्षण, सम्पादन तथा स्वीकृति मानव सम्पादकबाट अनिवार्य रूपमा गरिने स्पष्ट उल्लेख छ। साथै, यस्ता सामग्रीमा एआई प्रयोग गरिएको भन्ने जानकारी पारदर्शी रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
संहिताले व्यक्तिगत गोपनीयता, चरित्र हत्या, अश्लीलता, संवेदनशील वा सुरक्षासम्बन्धी सूचनाको हकमा कानुनको पूर्ण पालना गर्नुपर्ने र भ्रम, पक्षपात वा झुटा सूचना प्रवाहका लागि एआईको प्रयोग नगर्न स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ।
संघका वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मीका अनुसार आचारसंहिता संघमा आबद्ध सबै पत्रकारका लागि अनिवार्य हुनेछ, र यसको निगरानी संघले आफैं गर्नेछ। संघका महासचिव पवन फुयालले यो संहितालाई सबै सदस्यहरूका लागि बाध्यकारी तथा अन्य एआई प्रयोगकर्ताका लागि अनुकरणीय दस्तावेजको रूपमा प्रस्तुत गरेका छन्।
यसअघि पनि अनलाइन टिभी पत्रकार संघले सन् २०७७ मा "अनलाइन टिभी स्वनियमन निर्देशिका" सार्वजनिक गरेको थियो, जसले अनलाइन पत्रकारिताको मर्यादा कायम राख्न योगदान दिएको थियो।


