काठमाडौं, असार १ – इन्जिनियरिङ अध्ययन संस्थान (इ.अ.सं.) अन्तर्गतका आङ्गिक क्याम्पसमा पठनपाठन प्रभावित भएको भन्ने धारणा असत्य रहेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्पष्टोक्ति जारी गरेको छ।
हालै प्राध्यापक संघहरूले सार्वजनिक गरेको संयुक्त विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै नेविसंघले पठनपाठनमा कुनै अवरोध नरहेको जनाएको छ। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले असार १ गते जारी विज्ञप्तिमा संस्थानको शैक्षिक सुधारप्रति संगठनको सकारात्मक भूमिका रहँदै आएको उल्लेख गरेका छन्।
“इ.अ.सं. डिन कार्यालयलाई आर्थिक स्वायत्तता र विकेन्द्रीकरणको अधिकारसहित सुदृढ बनाउने अभियानमा हामी पूर्णरूपमा साथमा छौं,” विज्ञप्तिमा भनिएको छ।
तर पठनपाठनमा अवरोध भइरहेको भन्ने धारणा तथ्यहीन भएको नेविसंघको जिकिर छ। “प्रजातान्त्रिक अभ्यासमा कुनै पक्षको अधिकार अर्काको अधिकारमाथि अतिक्रमण हुनु हुँदैन,” विज्ञप्तिमा उल्लेख गरिएको छ, “विद्यार्थीको शैक्षिक हितलाई केन्द्रमा राख्दै अधिकार र कर्तव्यबीच सन्तुलन आवश्यक छ।”
त्रिभुवन विश्वविद्यालय र इन्जिनियरिङ अध्ययन संस्थानका सम्बन्धित निकायहरूलाई नियमित कक्षा सञ्चालन सुनिश्चित गर्न आग्रह गर्दै, नेविसंघले शैक्षिक क्यालेन्डरको पालना अनिवार्य रहेको जनाएको छ।
प्राध्यापकहरूप्रति सम्मान व्यक्त गर्दै अध्यक्ष शेर्पाले भनेका छन्, “हामी विश्वास गर्छौं, प्राध्यापकज्यूहरूले जिम्मेवारपूर्वक सन्तुलन कायम गर्नुहुनेछ र विद्यार्थीको पठनपाठनमा कुनै अवरोध आउने छैन।”
नेविसंघले जारी गरेको विज्ञप्तिलाई शान्तिपूर्ण संवाद र सहकार्यको संकेतका रूपमा लिएको छ। विद्यार्थीका हक–अधिकार र भविष्यलाई केन्द्रमा राख्दै, समस्याको समाधान संवादबाटै खोजिनु पर्ने कुरामा जोड दिइएको छ।