काठमाडौं — नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभागले सोमबार राजधानीमा आयोजना गरेको ‘विपद् व्यवस्थापनः चुनौती, अवसर र भावी कार्यदिशा’ विषयक छलफल कार्यक्रममा सहभागी विज्ञहरूले विपद् व्यवस्थापनलाई राष्ट्रिय विकासको अपरिहार्य अङ्ग बनाउनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपद् आउनेबेला मात्र झोला, डस्ना बोकेर दौडिने प्रवृत्तिले समाधान नदिने बताए। “विपद् व्यवस्थापन विकासको बहससँग जोडिनुपर्छ। मौसम अनुसार छलफल गर्ने होइन, सुदृढ तयारीसहित दीर्घकालीन योजना बनाउनुपर्छ,” थापाको भनाइ थियो। उनले बाढी, पहिरो, सुख्खा जस्ता विभिन्न विपद् एकसाथ भोग्नुपरेको परिस्थितिमा पूर्वतयारीको झनै आवश्यकता रहेको उल्लेख गरे।

विभागका सदस्य तथा जलवायु विज्ञ मानबहादुर थापाले कार्यपत्र प्रस्तुत गर्दै जलवायु परिवर्तनका कारण मनसुनको स्वरूप परिवर्तन भएको जनाए। उनका अनुसार अहिले केही घण्टामै अत्यधिक वर्षा हुने गरेको छ, जसले बाढी–पहिरोको जोखिम बढाएको छ। उनले नेपालमा हरेक वर्ष करिब ९० जना चट्याङका कारण ज्यान गुमाउने गरेको तथ्य प्रस्तुत गर्दै जलवायु परिवर्तनका असर गम्भीर रूपमा बढिरहेको बताए।
उनले हिमताल फुट्ने सम्भावना बढ्दो रहेको र हालै मुस्ताङ तथा रसुवामा तिब्बतबाट आएको बाढीले भएको क्षतिको उदाहरण दिँदै अन्तरदेशीय सूचना प्रणाली कमजोर हुँदा नेपालमा पूर्वतयारी गर्न कठिन भइरहेको बताए। छिमेकी मुलुकहरूसँग तथ्यांकको आदानप्रदान नहुनु र सीमित स्रोतसाधनले थप चुनौती सिर्जना गरेको उनको भनाइ थियो।
कार्यक्रममा नेपालमा नीति, योजना त बनेका छन् तर कार्यान्वयनमा कमजोरी रहेको धारणा पनि प्रस्तुत भयो। थापाले विपद् व्यवस्थापन कोषको रकम प्रायः विपद् आएपछि मात्रै प्रयोग हुने, रोकथामतर्फ खर्च नहुने स्थिति परिवर्तन गर्नुपर्ने उल्लेख गरे। उनले केन्द्रीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय अभाव रहेको र विभिन्न तहमा रहेका विपद् व्यवस्थापन समितिहरू प्रभावकारी रूपमा नचलिरहेको बताए। साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण कमजोर रहेको र प्राविधिक क्षमताको अभाव रहेको भन्दै तत्काल सुधारको माग गरे।
कार्यक्रम संयोजक डा. डिला संग्रौला पन्तले पनि नेपालमा बारम्बार बाढी, पहिरो, भूकम्प, खडेरी, अतिवृष्टि जस्ता विपद्हरू दोहोरिरहँदा पूर्वतयारी अभावले क्षति बढाएको बताइन्। उनले मौसमविद्हरूको चेतावनी अनुसार थप पानी पर्ने सम्भावनालाई ध्यानमा राखी तत्काल तयारी थाल्नुपर्ने आवश्यकता औंल्याइन्। डा. पन्तले नेपाली कांग्रेसजस्ता ठूला दलहरूले विपद् व्यवस्थापनमा विज्ञहरूलाई परिचालन गरी आवश्यक तालिम, स्रोतसाधन र उपकरण उपलब्ध गराउनु पर्नेमा पनि जोड दिइन्।
उनले जाजरकोट भूकम्पपछि बनाइएका अस्थायी टहराहरूको सन्दर्भमा पुनर्निर्माण अझै नसकिएको उल्लेख गर्दै, विपद् व्यवस्थापनमा सुशासन, समन्वय र वैज्ञानिक पूर्वतयारी अनिवार्य रहेको धारणा राखिन्।
कार्यक्रमको अवसरमा हालै निर्वाचित काठमाडौं बारका अध्यक्ष सुवोधबाबु चिलवालसहित नयाँ कार्यसमितिलाई सम्मान गरिएको थियो।
