काठमाडौं। विद्यालय शिक्षा ऐन तत्काल लागू गर्नुपर्ने मागसहित नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ।
शैक्षिक क्षेत्रमा भइरहेको शुल्क वृद्धिको अराजकता, छात्रवृत्तिमा भइरहेको अनियमिता, शैक्षिक माफियाको मनपरी तथा शैक्षिक शोषणका विरुद्ध नेविसंघले आवाज उठाउँदै समान, न्यायपूर्ण र पारदर्शी शिक्षा सुनिश्चित गर्न माग गरेको हो।
संघका अनुसार नयाँ बानेश्वर, थापाथली, कीर्तिपुर, घण्टाघर लगायतका स्थान र विभिन्न क्याम्पस परिसरमा शान्तिपूर्ण प्रदर्शन गरिएको हो।
प्रदर्शनका क्रममा नेविसंघले विद्यालय शिक्षा ऐन यथाशीघ्र ल्याउन सरकारलाई आग्रह गरेको छ। संघका प्रवक्ता सुरज सेजुवालले आन्दोलनका माग पूरा नभए थप कडा र सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन्।