नेभिगेशन
साहित्य

इन्द्र चौधरीको "सुदूरपश्चिमका थारू संस्कृति र लोककथा" सार्वजनिक

काठमाडौँ। बालसाहित्यकार तथा अनुसन्धानकर्ता इन्द्र चौधरीद्वारा लिखित अनुसन्धानात्मक कृति "सुदूरपश्चिमका थारू संस्कृति र लोककथा" औपचारिक रूपमा सार्वजनिक गरिएको छ। यो कृति आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसर पारेर आइतबार लोकार्पण गरिएको हो।

सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित सो पुस्तक धनगढीमा आयोजित एक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो। सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का, प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जोशी लगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए।

उक्त अवसरमा उपकुलपति जोशीले सुदूरपश्चिम क्षेत्रका प्रमुख समुदायमध्ये एक थारूहरूको लोकसंस्कृति र लोककथामा आधारित पुस्तक प्रकाशन गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले प्रज्ञा प्रतिष्ठानले विभिन्न जातजातिका कला, संस्कृति, भाषा र परम्परामाथि अनुसन्धान, अध्ययन तथा प्रकाशनको काम गर्दै आइरहेको उल्लेख गरे। आगामी वर्षमा अन्य जातीय समुदायका संस्कृतिलाई समेटेर पुस्तक प्रकाशन गर्ने योजना समेत रहेको उनले जानकारी दिए।

सामाजिक विकास मन्त्री खड्काले पनि प्रतिष्ठानको प्रयासको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।

पुस्तकका लेखक इन्द्र चौधरीले प्रतिष्ठानले आफूलाई अध्ययन परियोजनाको अवसर दिएकोमा आभार प्रकट गरे। "सुदूरपश्चिम थारू समुदायको संस्कृति र लोककथामाथि अध्ययन गर्ने अवसर पाउनु गौरवको विषय हो," उनले भने, "यसले मलाई थप अध्ययन अनुसन्धानमा लाग्न प्रेरणा दिएको छ।"

उक्त पुस्तक तीन खण्डमा विभाजित छ। पहिलो खण्डमा थारू समुदायको परिचय, दोस्रोमा थारू लोककथाको इतिहास र तेस्रो खण्डमा बीसवटा लोककथाको संकलन गरिएको छ। चौधरीका अनुसार, पुस्तकमा समावेश गरिएका अधिकांश कथा पहिले कहिल्यै प्रकाशित भएका थिएनन्। यी कथाहरू ७६ वर्षीय लौघरी डगौरा, ७८ वर्षीया कालीमैया डगौरा र ५५ वर्षीया रामप्यारी डगौराबाट संकलन गरिएको हो।

यो पुस्तक चौधरीको सातौँ कृति हो। उनका अघिल्ला कृतिहरू पनि थारू तथा रानाथारू समुदायको लोकसंस्कृति र परम्परामै केन्द्रित रहेका छन्। यसपटकको पुस्तकको आवरण चित्र कलाकार दीपक चौधरीले तयार पारेका हुन्।

Untitled-(1200-x-900-px)-(1000-x-788-px)-1752472402.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्