नेभिगेशन
देश

कृषि विकास बैंकले प्रगति गरिरहे पनि चुनौती थपिएका छन् : अध्यक्ष डिमप्रसाद पौडेल

काठमाडौं । कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेलले बैंकले पछिल्ला केही वर्षमा उल्लेखनीय प्रगति गरेको भए पनि प्रगतिलाई निरन्तरता दिन थप चुनौतीहरू रहेको बताएका छन् ।

बैंकको ५८ औँ वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको ५९औँ वार्षिकोत्सव स्मारिकाको विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले बैंकको हितका लागि सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । उनले बैंक स्थापना भएको पृष्ठभूमिदेखि अहिलेसम्मको लामो इतिहासले समय–समयमा बैंकको भूमिका परिवर्तन हुँदै आएको बताए ।

‘हामी जुन पृष्ठभूमिमा स्थापना भयौँ, त्यहाँबाट यहाँसम्म आइपुग्दा बैंकको लामो इतिहास छ । त्यो इतिहाससँगै कृषि विकास बैंकका भूमिकाहरू पनि बेला–बेलामा परिवर्तन हुँदै आएका छन् । हामी सबैले बैंकको हितको लागि आफ्नो भूमिका निभाउँदै आइरहेका छौं । बैंकले विगत केही वर्षदेखी धेरै राम्रो प्रगति गरिरहेको छ । प्रगति गरेर अगाडि बढीरहँदाखेरी चुनौतिहरु रहन्छन् । प्रगति गरिहेको ठाउँमा टिकिरहनका निम्ती पनि थप चुनौतिहरु रहन्छन्,’ उनले भने ।

अध्यक्ष पौडेलले कृषि विकास बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग प्रतिस्पर्धा गर्नुपर्ने र साथसाथै सरकारले अपेक्षा गरेको तथा प्रत्याभूत गर्न चाहेको सेवा पनि प्रदान गर्नुपर्ने भएकाले दोहोरो जिम्मेवारी वहन गर्नुपरेको बताए । प्रतिस्पर्धात्मक युगमा प्रविधिले तीव्र फड्को मारेको उल्लेख गर्दै उनले कर्मचारी, व्यवस्थापन, प्रणाली तथा सम्पूर्ण संरचनालाई समयानुकूल अद्यावधिक गर्न नसके बैंक कमजोर अवस्थामा पुग्ने चेतावनी दिए।

उनले भने, ‘अरु बैंक तथा वित्तीय संस्थाहरुसँग पनि प्रतिस्पर्धा गर्नु र सरकारले चाहेको, सरकारले प्रत्याभूत गर्न चाहेको सेवा पनि प्रत्याभूत गर्नु र दिनुपर्छ भनेर अरु बैंक वित्तीय संस्थाको भन्दा दोब्बर जिम्मेवारीमा हामी छौं । प्रतिस्पर्धा युगमा प्रविधिले धेरै फड्को मारिरहेको छ । हामीले आफूलाई कर्मचारीले, व्यवस्थापनले, विभिन्न अंगहरुले र हाम्रा सिस्टमहरुले आफूलाई अपडेट गर्न सकेन भने बैंक धेरै कमजोर अवस्थामा आइपुग्छ ।’

उनले जनताले कृषि विकास बैंकलाई सामान्य वित्तीय संस्थाको रूपमा मात्र नभई आवश्यक पर्दा प्राविधिक सेवा समेत प्रदान गर्ने भरपर्दो संस्थाका रूपमा चिन्न चाहेको बताए । जनताले बैंकबाट ठूलो अपेक्षा गरेकाले त्यसमा बैंक चुक्न नहुने उनले बताए ।

उनले भने, ‘जनताले हामीलाई के भनेर चिन्ने त एउटा सामान्य वित्तीय संस्थाको रुपमा चिन्ने वा गाहेसाहे पर्दाखेरी प्राविधिक सेवा पनि दिने बैंक वित्तीय संस्थाको रुपमा चिन्ने । हामीबाट जनताले धेरै ठूलो अपेक्षा गरेका छन् त्यसैले यो कुरामा हामी चुक्नु हुँदैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्