नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पार्टीले पूर्ण समर्थन गरे पनि सरकार अपेक्षित रुपमा चल्न नसकेको टिप्पणी गरेका छन्।
रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले काँग्रेसले सरकारलाई एक होइन, दुई काँध दिएर सहयोग गरे पनि कामको गति अझै नदेखिएको बताए।
"काँग्रेसले एक काँध मात्रै हैन, दुईवटै काँध थापिदिएको छ। तर पनि सरकारले भनेअनुसारको गति लिन सकेन। सुशासनको क्षेत्रमा केही सहजता आएको हो, तर नागरिकहरूले सरकारप्रति गर्व महसुस गर्ने खालको परिवर्तन अझै देखिएको छैन," उनले स्पष्ट पारे।
उनले वर्तमान सरकारको आलोचना गर्दै यसले जनताको विश्वास जित्न अझ मेहनत गर्नुपर्ने बताए। साथै काँग्रेस प्रधानमन्त्री नभएको भन्दै जिम्मेवारीबाट पन्छिन नसक्ने स्थिति रहेको पनि उनले प्रस्ट पारे।
सरकार परिवर्तनको चर्चाबारे बोल्दै उनले काँग्रेस हाल सरकार बदल्न नभई कार्यशैलीमा सुधार ल्याउने पक्षमा रहेको बताए। पार्टी केन्द्रीय समितिको बैठकमा पनि कार्यसम्पादनको समिक्षा भइरहेको र जनआकांक्षाअनुसार सरकार अघि बढ्नुपर्ने निष्कर्षमा पुगेको जानकारी दिए।
शुक्रबार शीलत निवासमा काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटलाई लिएर उठेको चर्चा पनि उनले खारेज गरे। उक्त भेटलाई सामान्य शुभकामना आदान–प्रदानको रूपमा लिन आग्रह गर्दै उनले यो सरकार परिवर्तनका लागि भएको छलफल नभएको प्रस्ट पारे।
"प्रचण्ड र देउवाबीचको भेट सौहार्दपूर्ण थियो। त्यो कुनै राजनीतिक समीकरण बदल्ने प्रयोजनको थिएन," उनले भने।
विश्वकर्माले सरकार जनताको टुटेको विश्वास जोड्नतर्फ गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए।