नेभिगेशन
देश

ईँटा भट्टामा श्रम गर्दै ४ GPA ल्याउने गोमा श्रेष्ठलाई भाटभटेनीका सञ्चालक गुरुङद्वारा सम्मान, डाक्टर बनाउने जिम्मा लिने घोषणा

रिपोर्ट: दिनेश चौधरी

भक्तपुर, असार १८। भक्तपुरको सुडालस्थित ईँटा भट्टामा श्रमिक बाबुसँगै काम गर्दै अध्ययन गरेकी गोमा श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.०० GPA ल्याएर समाजमा अनुकरणीय उदाहरण प्रस्तुत गरेकी छन्। उनको यो संघर्ष र सफलतालाई सम्मान गर्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले उनलाई विशेष सम्मान गरेका छन्।

गुरुङले आफ्नो कार्यालयमा आयोजना गरिएको कार्यक्रममा गोमालाई एक थान ल्यापटप र उच्च शिक्षा सुरु गर्नका लागि नगद एक लाख रुपैयाँ सहयोग प्रदान गरे। कार्यक्रममा गोमाका पिताको उपस्थितिमा भावुक हुँदै गुरुङले भने, “छोरीको डाक्टर बन्ने सपना म पुरा गरिदिन्छु।”

गुरुङले गोमाको जुझारु जीवनशैली र उत्कृष्ट नतिजाको खुलेर प्रशंसा गर्दै उनको भविष्यको सम्पूर्ण शैक्षिक यात्रामा आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।

“गोमाजस्ती प्रतिभावान र मेहनती छोरीको लक्ष्य पुरा गर्न म सधैं साथ दिनेछु। उहाँले डाक्टर बन्ने सपना देख्नुभएको छ भने त्यो सपना साकार बनाउन म पूर्णरूपमा तयार छु,” गुरुङले भने।

सामान्य आर्थिक पृष्ठभूमिका बाबजुद श्रम र अध्ययनलाई एकसाथ अघि बढाउँदै प्राप्त गरिएको यो उपलब्धि र त्यसको कदर स्वरूप गरिएको सहयोगले देशभरका विद्यार्थीहरूलाई थप ऊर्जा र प्रेरणा दिने अपेक्षा गरिएको छ।

WhatsApp-Image-2025-07-03-at-5.23.57-PM-(2)-1751527834.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्