नेभिगेशन
राजनीति

जेन–जी आन्दोलनमा दमनको जिम्मेवारी ओली र लेखकले लिनुपर्छ : भीम रावल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले भदौ २३ गते जेन–जी आन्दोलनका क्रममा भएका दमनकारी कारबाहीको प्रत्यक्ष जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले उच्च पदमा बसेका व्यक्तिहरू घटनाप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन्।

उनका अनुसार राज्यको नेतृत्वमा बसेको व्यक्तिले संविधान अनुसार गर्ने काम नगरेमा वा कर्तव्यपूर्ति गर्न असफल भएमा त्यसको जवाफदेही बहन गर्नैपर्छ। “भदौ २३ को घटनामा तत्कालीन प्रधानमन्त्री, सरकार र त्यतिबेलाका सत्तारूढ दलहरू जिम्मेवार बन्नैपर्छ,” उनले भने।

रावलका अनुसार एमाले अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री ओलीले “मलाई थाहा छैन, मबाट आदेश दिएको होइन” जस्ता गैरजिम्मेवार प्रतिक्रिया दिँदै घटनाबाट पन्छिन खोजेको आरोप लगाए। उनले संसदीय व्यवस्थामा कुनै पनि घटना घट्दै गर्दा प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयका मन्त्री नै प्राथमिक रूपमा जिम्मेवार हुने स्पष्ट गरे।

भदौ २४ गते भएको विध्वंसको वास्तविक कारण र पृष्ठभूमि पहिचान गर्न गहिरो अनुसन्धान आवश्यक रहेको रावलले उल्लेख गरे। उनले वर्तमान सरकार गठन भइसकेपछि देखिएका विभिन्न संकेतहरू सकारात्मक नभएको जिकिर गर्दै मन्त्री छान्ने प्रक्रियामा समेत विवादास्पद पात्रहरू देखिनु चिन्ताजनक रहेको बताए।

“यो सरकार बनेयताका लक्षणहरू उत्साहजनक छैनन्। मन्त्री बनाउने क्रममा अदालतमा उभिनुपर्ने, विभिन्न काण्डमा मुछिएका, नैतिकता प्रश्नमा पर्ने व्यक्तिहरूको नाम आएको देखिन्छ,” उनले भने।

रावलले वर्तमान सरकारले भारतसँग गरेको पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौताप्रति पनि आपत्ति जनाए। उनले छ महिनाका लागि बनेको चुनावी सरकारले दीर्घकालीन प्रभाव पार्ने खालका सम्झौता गर्न नपाउने भन्दै उक्त सम्झौताको प्रावधान देशहितविपरीत रहेको दाबी गरे। सम्झौता किन लुकाइएको भन्ने प्रश्न उठाउँदै उनले युवालाई सार्वजनिक दबाब सिर्जना गर्न आह्वान गरे।

महान्यायाधिवक्ता सविता भण्डारी बरालमाथि पनि रावलले प्रश्न उठाउँदै किशोरीहरूको डिम्ब दुरुपयोगमा संलग्न संस्थालाई उन्मुक्ति दिएको आरोप लगाए। “यस्तो संवेदनशील विषयमा कारवाही नहुनु सुशासनको नमूना कदापि होइन,” उनले भने।

त्यस्तै ऊर्जामन्त्री कुलमान घिसिङ र भारतबीचको विद्युत् सम्झौतामाथि पनि उनले असन्तुष्टि व्यक्त गरे। उनले आन्दोलनकारी युवाले १३ देखि २८ वर्षसम्मका युवालाई नेतृत्वमा ल्याउनुपर्ने माग गर्दा ७३ वर्षीय सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनु विरोधाभाष भएको टिप्पणी गरे।

रावलका अनुसार आगामी आम निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने जिम्मेवारी वर्तमान सरकारले वहन गर्नुपर्छ। उनले समाजमा अराजकता, कैदीबन्दी तथा हतियार बाहिर हुनुजस्ता चुनौती बढ्दै गएको बताउँदै सरकारले ती समस्याप्रति गम्भीर हुनुपर्ने सुझाए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्