नेभिगेशन
सलिमा

नेपालमै अन्तर्राष्ट्रिय स्तरको क्याफे अनुभव, दरबारमार्गमा स्टारबोस कफीको पहिलो शाखा सुरु

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय स्तरको क्याफे सेवा विस्तार गर्ने उद्देश्यसाथ स्टारबोस कफीले आफ्नो पहिलो शाखा काठमाडौंको दरबारमार्गमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। शनिबार आयोजना गरिएको उद्घाटन कार्यक्रममा अभिनेत्री तथा मिस नेपाल २०२० नम्रता श्रेष्ठ, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली, प्राइम टिभीका अध्यक्ष ऋषि धमला तथा टक्सार ग्रुप अफ कम्पनीजका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले रिबन काटेर कफी हाउसको शुभारम्भ गरे।

टक्सार ग्रुपद्वारा सञ्चालन गरिएको स्टारबोस कफी आधुनिक इन्टेरियर, विश्वस्तरीय सेवा र उच्च गुणस्तरका कफी तथा खाद्य परिकारमार्फत नेपालमा क्याफे संस्कृतिमा नयाँ उचाइ थप्ने लक्ष्य राखिएको छ। सोही अवसरमा अभिनेत्री नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरिएको थियो। कम्पनीका अनुसार नम्रताको पहिचान र लोकप्रियताले ब्रान्डप्रति उपभोक्ताको विश्वास मजबुत बनाउनेछ।

नबिल बैंकका सीईओ मनोज ज्ञवालीले चुनौतीपूर्ण अर्थतन्त्रका बीच सुरु भएको यो व्यवसायले बजारलाई सकारात्मक सन्देश दिनेको बताए। उनका अनुसार स्टारबोस कफीले अन्य उद्यमीलाई पनि नेपालमै नयाँ सम्भावना खोज्न प्रेरित गर्नेछ।

पत्रकार ऋषि धमलाले सञ्चारकर्मीहरूसँगको भेटमा जेनजी आन्दोलनका कारण प्रभावित व्यवसायीलाई सरकारले राहत प्रदान गर्नुपर्ने औँल्याए। उनका अनुसार जेनजी आन्दोलनले नेपालमा नयाँ व्यवसायिक वातावरण निर्माण गर्दै गइरहेका छ।

उद्घाटन समारोहमा टक्सार ग्रुपका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले विभिन्न चुनौतीबीच पनि स्टारबोस कफी सञ्चालनमा ल्याउन सफल भएको बताए। उत्कृष्ट सेवा, स्वादिलो कफी र शान्त वातावरणमार्फत स्टारबोसलाई नेपालकै प्रमुख क्याफे ब्रान्ड बनाउने लक्ष्य रहेको उनले उल्लेख गरे।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा दिनकै लागि स्टारबोस कफीले अनुभवी विशेषज्ञहरू समावेश रहेको टोली तयार पारेको छ। यस परियोजनाले युवाहरूलाई रोजगारी, सीप विकास र उद्यमशीलता प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास समूहले व्यक्त गरेको छ।

दरबारमार्ग शाखापछि कम्पनीले तनकुनेमा दोस्रो र ललितपुर इमाडोलमा तेस्रो शाखा शुरू गर्ने तयारी गरेको छ। साथै, निकट भविष्यमा देशका प्रमुख शहरहरूमा फ्रेन्चाइज विस्तार गर्ने योजनासमेत अघि ल्याइएको छ।

स्टारबोस कफी टीजी भेन्चर्सअन्तर्गत सञ्चालनमा आएको पहिलो हस्पिटालिटी परियोजना हो। टीजी भेन्चर्स स्वयं टक्सार ग्रुप अफ कम्पनीजको प्रमुख व्यवसायिक इकाइ हो, जसले विभिन्न क्षेत्रमा सक्रिय भूमिका खेलेको छ। यस कफी व्यवसायमार्फत टक्सार ग्रुपले नेपालका हस्पिटालिटी र क्याफे उद्योगमा औपचारिक प्रवेश गरिसकेको छ।

उद्घाटन कार्यक्रममा टक्सार ग्रुपका सह–संस्थापक तथा फ्रेन्चाइज प्रमुख दिर्घप्रसाद कर्माचार्य, स्टारबोस कफीका एमडी पूर्ण श्रेष्ठ, महाप्रबन्धक सुवास अधिकारी, कलाकार यमन श्रेष्ठसहित अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

WhatsApp-Image-2025-11-16-at-18.21.08_1fb72994-1763289948.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्