नेभिगेशन
विचार/ब्लग

समा चेकवा - थारु सभ्यता र संस्कृति

- बुद्धसेन चौधरी

केहेन तोहर गौरव हे गर्भा राजा सगरे भेलौ उपहास
चुलगलाके चुगलीमे पैरके हे राजा बेटीके देला बनवास

यो यस्तै यस्तै कहानी र भाव बोकेको गीत गाउँदै सम्झदै मनोरञ्जन गर्दै तराई थरुहटमा थारु समुदाय लगायत अन्य समुदायमा  पनि रात परेपछी गितले गुञ्जमान भई रहेको छ । करिब दुई हजार बर्ष भन्दा पहिलेको कुरा हो प्रयागराज, गर्भदेश ( हालको ईलहावाद इलाका ) मा किसन भुसन सेन नामको स्थविर वादी राजा र रानी आदमबत्ती थियो । उनीहरुको दुई सन्तानको रुपमा जेठी छोरी समा र छोरा साम्ब थियो । सानै उपमेरमा विहे हुने परम्परा अनुसार समाको विहै नजिकैको मगध देशको राजा सालिकको छोरा चक्रवाक संग भएको थियो । समय वित्दै गयो समा पनि ससुराली जान उमेरको हुन लाग्यो । उसको रुपबाट प्रभावित भएर राजाको विश्वासीलो  र हर्ताकर्ता चुरठ नामगरेको भारदार समा प्रति मोहित भएर प्रेम प्रस्ताव राख्यो । समाले त्यसलाई अस्विकार गर्यो । चुरठले आत्मगलानी महशुस गरी समासंग बदला लिने सोंच राखेर उसको चरित्र माथी प्रश्न खडा गरी राजाको कान फुक्ने काम गर्यो । राजाले सोच्दै नसोंची रिसले चुर भई समालाई राजसी जीवन त्यागेर बनवास जाने सजाय सुनायो । हो, कहानी यहाँबाट शुरु हुन्छ । यो कुरा तत्कालै परालको आगो झै फैलियो । तत्कालिन समयमा बोली र गोली बराबर हुन्थ्यो । बोलेको कुरा जसरी पनि पुरा हुनै पर्नै र गर्नै पर्ने हुन्थ्यो जो अहिले पनि थारू समुदायमा धेरै हद सम्म रहेकै छ । समा संग विकल्प कुनै थिएन । बुवा आमको जस्तोसुकै आदेश शिरोधार्य गर्ने संस्कारमा हुर्केकोले उ असहज नमानी वनवासको लागि तयार भयो । राजा आदमबत्ती राजाकहाँ गएर आफ्नो निर्णय फिर्ता लिन अनुरोध गर्यो र विलौना गर्दै यसो भन्यो ।
रानी आदमवती - 
केहेन तोहोर गौरव हे गर्भा राजा, सगरे भेलौ उपहास
चुगलाके चुगली मे पैरके हे राजा, वेटीके देला वनवास । चुगलाके ...........

पर के वचन विमोचन हे राजा तोर भेलौ सत्यानाश 
भाई बाप टुटल छुटल, वेटीके लैहरा से टुटलै आश । चुगलाके ...........

जिन तु समझ बुझ हे राजा जिन कैल खोज विचार
तोहरो विचार मे लागल मधुवा, समा बेटी के छुटल सब से हित । चुगलाके ..........
 
कौने विधि बेटी बसिहे राजा कौने विधि काटतै समय साल
सब सुविधा जोरी देहु हे राजा ने त समय विततै बर जंजाल । चुगलाके ..........

राजा आपन गल्तीके महशुस गर्दै जवाफ फर्काउँछ ।

राजा, किसनभुसन सेन 
चुरठ के जिन दोष हे रानी, जिन दोष मोर रिस
विधि के लिखल हे रानी, समा के साथ यैसन अनरित । विधि के..........

साँठी देहु आहे रानी झाझी रे कुतुवा, साँठी देहु भमरा रंजित
छानी छानी पठाव हे रानी सकले समान के जैसे हेतै समा बेटी आपन हित । जैसे हेतै ...........

अलख जगाबे पठाब हे रानी एक गिरोह काली नृत्य
हृदयानन्द हेतै हे रानी, खुस हेतै समा वेटी के चित । हृदयानन्द हेत...........

यस्तो करुणामय वर्तालापको वावजुद पनि वनवासलाई कसैले रोक्न सक्ने अवस्था थिएन । समा वनवासको लागि घर छोड्दै जाँदा पुरा समाजमा नै सन्नाटा छाएको हुन्छ । गाउँबाट पर पुगे पछि भाई साम्ब रुँदै कराउँदै आईपुग्यो र दिदीलाई घर फर्काउन अथक प्रयास गर्यो । तर सकेन । आँशु, करुणा, दर्द र भरोसाले भरिएको यो सम्वादः-

गीत 
साम्ब -  कथिले कानै चिही हे समा वैहिनी, कथिले टुटलौ लहिरासे आश
            घर घुरी चलु हे समा बैहिनी, बांटी देबो आधा राज 
समा - बाबा के समपतिया हे भैया भतिजवा के आस
           हम पर गोतनी हे भैया मोटरिया के आस         
साम्ब - घर लौटी चल हे समा बैहिनी बाबा के देबै हम ज्ञान
           तुहु जिन घुरब हे समा बैहिनी मोही तेजव आपन प्राण 
समा - जिन यैसन करहु हे साम्ब भैया बाबा के हेतै बहौत बदनाम
           करम के खोट हे भैया विधि मोरा भेलै बाम 
साम्ब - कैसन के हम जिबै हे समा बैहिनी, कैसन के फेरव हम सास
            जिन तुहु घुरव हे समा बैहिनी जगत मे भाई के हेतै बहौत उपहास 
समा -  जनि कानु जनि खिजु जनि हेवु निराश
           दोसर जन्मुवा मे हम सब फेरो एके कोखी लेबै अवतार

त्यस लगतै समाको श्रीमान चक्रवाक दलबलसहित आई पुग्यो । गाउँ समाजको व्यक्तिहरुको पनि त्यही थियो । आफ्नी श्रीमतीलाई अनेक तरिकाले सम्झाउने र आफु संग जाने प्रयास गर्दा पनि समा वुवाको अज्ञामा दृढ रहेर श्रीमानलाई पनि अर्को जन्ममा संगै श्रीमान श्रीमतीको रुपमा संगै जीवन बिताउने भनेर वचन दिन दियो र वनतिर लाग्यो ।  जाँदा जाँदै समाले यो जनम मात्र होइन जनम जनम सम्म म तपाईहरुकै साथमा रहन्छु भनेर गाउँ समाज भाई साम्ब र श्रीमान चक्रवाकलाई वचन दियो । कातिक शुक्ल पक्ष ईजौरीयाको दितिया तिथी देखी पुर्णिमा सम्म म चकेवा चकेवीको रुपमा जन्म जन्मान्तर सम्म रहि रहन्छु भनेर वचन ( जमान )  दिएर जान्छिन ।

उत्ता चुरठलाई राजाले देश निकाला गरिसकेको हुन्छ । तर चुरठ बदलाको आगमा अझै जलिरहेको हुन्छ । समय संगै उसले मौका पारी जंगलमा चारै तिरबाट आगो लगाई दिन्छ । जसलाई राजकुमार साम्ब सहित गाउँको सबै जना मिलेर निभाउँछ । सबै जना मिले पछी काम फते हुन्छ । अहिले पनि गाउँमा चलन नै छ । हौ, सात भाई मिलबै त कतिले नै हेतै । सबकुछ हेतै । त्यसवेला देखि यो पर्वको शुरुवात भएको मानिन्छ । थारु समुदाय पुनरजन्ममा विश्वास गर्छ । अहिले पनि कसैको मृत्यू भएमा जलाएर आएपछी उ सुत्ने ठाउँमा वालुवा राख्ने चलन छ । भोली पल्ट त्यो बालुवामा देखिएको चिन्ह अनुसार नै त्यो ब्यक्तिको पुनरजन्म भएको विश्वास गरिन्छ ।

समा आफ्नो तपले अर्को जन्ममा चकेवाको दुई अन्डाको रुपमा जन्म लिन्छ । सानोमा भाई बहिनी अर्थात समा र साम्बको विचको मया प्रेम साट्छ भने तथा जवान भएपछी श्रीमान श्रीमती अर्थात समा र चक्रवाकको रुपमा माया स्नेह बाट्दै आफ्नो वचन पुरा गर्छ । चकेचा चकेवीको रुपमा अहिले पनि पोखरी नदी, दह आदिमा कहिले काँही गाउँको माथीबाट जोडीको रुपमा उडेको पनि देख्न सकिन्छ । यो संस्कारको शुरुवात यसरी भएको हो । अहिले यसलाई अपब्यख्या गरेर कृष्णको छोरी समा हो भने गरिन्छ जसमा कल्पना मात्रै छै । थारु महिलाले समा बनाउँदा गाउने गीत र डालोमा राखेको कुराहरु जीवन्त हो । जो अहिले सम्म चलिरहेको छ  र सत्यता यसैमा छ ।
यस परम्परालाई भाई–बहिनी, श्रीमान्–श्रीमती, आमा–वुवा र छोरा–छोरीको विचको स्नेहपूर्ण तथा प्रगाढ सम्बन्धको प्रतिकको रुपमा लिइन्छ जसमा भाई ९साम्ब० ले बहिनी ९समा० प्रति देखाएको अगाध प्रेमको वर्णन छ भने जन्म जन्म सम्म संगै रहने राजकुमारी ‘समा’ र राजकुमार ‘चक्रवाक’ विचको अन्तर सम्बन्ध पनि झल्केको छ । आमा–वुवाको आदेश असल, खराब जे भए पनि सिरोधार गरी पालन गर्ने अठोट साथ अज्ञाकारिता र वचनबद्धताको उदाहरण पनि यसमा छ भने हतारमा गरेको निर्णयले पछि पछाताउनु वाहेक केही पनि बाँकी रहदैन भने सन्देश पनि यसमा देखिन्छ । 

   
कार्तिक शुक्लपक्ष द्वितीया तिथिमा समा–चकेवाको सम्झना स्वरुप महिलाहरुले माटोले विभिन्न स्वरुप बनाउँछन्, जसमा समा, चकेवा, चुगला ( चुरठ ), सतभैयाँ, कुकुर, भमरा, वृन्दावनी, नाँचटोली  ( मिरदङ्गीया, नटुवा, झाइलबज्जा, आदि ) जस्ता स्वरुपहरु निर्माण गर्दछन् । यी स्वरुपहरुलाई डलामा राखी सधै राती–राती टोलको मुख्य जेवारको घरमा जम्मा भइ, आ–आफ्नो डलामा बत्ती ( टुकी ) बाली गीत सहित एक डेराबाट अर्को दरबजामा जान्छन् । त्यहाँ गइसके पछि विभिन्न किसिमका गीतहरु गाउँछन् । त्यसपछि आ-आफ्नो समालाई ढेक ( जोतेको खेतको डल्ला ) खुवाउँछन् र भन्छन् ‘समा–चकेवा समा–चकेवा आविह हौ, जोतलहा खेतमे बैठियह हौ, ढेक फोइर फोइर खाइयह हौ’ । त्यस पछि फर्केर आँगनमा आइ चुरठ ( चुगला ) लाई गाली सहित तीन चोटी जुँगा डढाउँछन् र भन्छन् ‘अगर के काठी डगर के गुँह, घोइर घोइर देबौ चुगलाके मुँह’ अनि सबै जना खित्का छोरेर हाँस्छन् । त्यसपछि बनाइएको वृन्दावनी पनि तिन चोटी डढाउने र निभाउने गर्छन् र भन्छन् ‘वृन्दावनी वृन्दावनी के के बुताबे, सात भाइ .......( भाइको नाम ) सेहा बुताबे’ । यसपछि सबै जना आ-आफ्ना घर जान्छन् ।

यसै किसिमले प्रत्येक राती खेली पूर्णिमाको रात पुरा गाँउ डुल्ने गर्छन् र त्यसको भोलीपल्ट विहान समा–चकेवा साथमा लिइ, गीत गाउँदै टोलभरि घर(घरमा गइ विदाइको लागि माग्ने गर्छन् । त्यसपछि नजिकको पोखरी, नदी, तलाउ इत्यादिमा पुजा गरी तेल, सिन्दुर सहित, च्युरा, दही, शखर अन्य कोसेलीहरु साथमा दिइ पानीमा सेलाउँछन् भने पानीमाथि तैरिरहने पालकी ९डोली० बनाएर त्यसमा आ-आफ्नो समा–चकेवालाई राखेर बिच पानीमा गएर जैठमा डोरीले बाघेर राख्ने गर्छ । त्यहाँ उपस्थित सबैलाई प्रसाद स्वरुप दही, च्युरा बाँड्छन् । यसरी छोरीलाई विदाई गरे जस्तै विदाई गरी अर्को बर्ष सम्मको लागि समा खेलाउनेकामको अन्त हुन्छ ।

समा–चकेवा महिलाहरुले खेलेर मनोरञ्जन गरिने एक किसिमको परम्परागत संस्कृति हो । यस संस्कृतिसँग थारुहरुको पुर्खौली सम्बन्ध रहेको छ । अहिले पनि थारुहरुको थाकवंश, कुलदेवता इत्यादि पुर्खाहरुकै नामबाट रहि आएकोले यसबाट यो संस्कृतिसँग थारुहरुको वंशाणुगत सम्बन्ध रहेको प्रतिक हुन्छ । नेपालको इतिहास हेर्दा तराइमा बसोवास गर्ने जात जातिहरुले विभिन्न काल खण्डमा आइ आ–आफ्नो अस्तित्वलाई स्थापित गरे पनि एकले अर्कालाई विस्थापित गर्ने र अर्काको धर्म संस्कृति परम्परालाई नाकारात्मक व्यवहार गरेको पाइदैन । फलस्वरुप तराईमा विभिन्न समयमा आएका अन्य जातिसमुदायहरुले पनि यस परम्परालाई स्वीकार गरी धुमधामको साथ मनाउने गर्छन् । त्यसकारण यो थारुहरुको पुर्खौली परम्परा भए पनि  अहिले सम्पूर्ण तराईवासी अझै भनौ देशकै साझा संस्कृतिको रुपमा हेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विचार/ब्लग
थारू समुदायमा अटवारी पर्व

थारू समुदायमा अटवारी पर्व