नेभिगेशन
राजनीति

जेन-जी आन्दोलनको नाममा फेरि हुनसक्ने आक्रमणको प्रतिकार गर्न वाईसीएलले काठमाडौंमा बनायो १०औं हजारको फोर्स

नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष पुष्प ओलीले जेन–जी आन्दोलनको नाममा पुनः हुनसक्ने आक्रमणको सामना गर्न काठमाडौं उपत्यकामा १० हजार जनाको युवा फोर्स तयार राखेको बताएका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनले असली जेन–जीहरुको मागप्रति संगठन एकमत रहेको र स्वयमसेवकीय भूमिकामा संलग्न रहँदै पनि घुसपैठे प्रयासले आक्रमण गर्न सक्ने भन्दै सतर्कता अपनाइएको बताए।

ओलिले वर्तमान अवस्थामा केही सम्झौता नभएको तवरमा माओवादी नेताहरूमाथि आक्रमण हुन सक्ने, प्रहरी प्रशासन र शक्ति दुरुपयोगका कारण दमन भइरहेको र यसप्रति उनीहरु कडा आलोचना तथा भर्त्सना गर्ने बताए। यदि कुनाकुनामा गोप्य षड्यन्त्र रचिएको पाइए उनीहरुले त्यसको उजागर, प्रतिरोध र प्रतिकारमा सक्रिय हुने उनको भनाइ थियो। “उपत्यकामा हामीले १० हजारको फोर्स रेडी राखेका छौं र मञ्चबाट पनि स्पष्ट चेतावनी दिन चाहन्छौं — फेरि आक्रमण गर्नेलाई युवा विद्यार्थी मिलेर प्रतिरोध गरिनेछ,” उनले भने।

उनले भदौ २३ गते ड्रेसमा रहेका विद्यार्थीमाथि गरिएको गोली प्रहार र त्यसपछि भएको दमनबारे निष्पक्ष छानबिन हुनुपर्ने जोड दिए। साथै, भदौ २४ गते मध्यान्न देखि जेन–जी आन्दोलन हाइज्याक गरिएको र हाइज्याकमा संलग्न र विध्वंसमा लागेकोहरुमाथि पनि कारबाही हुनुपर्ने उनको माग थियो।

ओलिले माओवादीका वरिष्ठ नेता कृष्णबहादुर महरामाथि गरिएको धरपकड र उनमाथि लगाइएका मुद्दा निष्ठुर र झुठो भएको आरोप लगाउँदै तत्काल रिहा नहुँदा सडकबाट जवाफ दिनुपर्ने चेतावनी दिए। “उहाँको लामो जनसेवा र नेतृत्व रहेको छ — के आधारमा समातियो? झुठा मुद्दा लगाइएको छ भने यसको जवाफ दिन हामी तयार छौं,” उनले भने।

साथै, उनले पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व राजा र राप्रपाका नेताहरुको सम्पत्ति छानबिन हुनुपर्ने र त्यसको निष्पक्ष सुरुवात माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाटै हुनुपर्ने चुनौतीसमेत दिइन्। उनले भने, “सम्पत्ति छानबिनमा कसैलाई छुट दिइने छैन; राज्यको झण्डै तलब खाइसकेकोलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्