नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्ष विजय प्रकाश सापकोटाले वर्तमान सरकारले माओवादी आन्दोलन र गणतन्त्र पक्षधर नेताहरूमाथि धरपकड, धम्की र कुप्रचार अभियान चलाएको आरोप लगाएका छन्। शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममार्फत समसामयिक विषयमा धारणा सार्वजनिक गर्दै उनले यस्ता कार्य तुरुन्त रोक्न सरकारसँग माग गरे।
सापकोटाले भने, “अहिलेको सरकारले माओवादी आन्दोलनका कार्यकर्तामाथि दमन, धरपकड र चरित्र हत्या गर्ने कार्य गरिरहेको छ। यो अस्वीकार्य छ।”
उनले भदौ २३ गते भएको जेन–जी आन्दोलनका क्रममा ड्रेसमा रहेका विद्यार्थीमाथि गोली प्रहार गरिएको घटनाप्रति पनि कडा आपत्ति जनाए। उनका अनुसार, “सरकारले विद्यार्थीमाथि गोली चलाउने दोषीमाथि कारबाही गर्नुपर्नेमा बरु विषयलाई अन्यत्र मोड्ने प्रयास गरिरहेको छ, जुन हामीलाई स्वीकार्य छैन।”
साथै, उनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का अतिक्रमित जग्गासम्बन्धी त्रिताल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे। सापकोटाले बताए अनुसार, “प्रचण्ड प्रधानमन्त्री हुँदा गठित त्रिताल आयोगले हजारौं रोपनी त्रिविको जग्गा अतिक्रमणमा परेको निष्कर्ष निकालेर तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईलाई प्रतिवेदन बुझाएको थियो। तर त्यो प्रतिवेदन अहिले हराएको छ, त्यसको खोजी हुनुपर्छ।”
अध्यक्ष सापकोटाले अब तोकिएको मिति अनुसार आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने बताए। उनले भने, “चुनावलाई अवरोध गर्ने र जेन–जी आन्दोलनलाई हाइज्याक गर्ने प्रयास भइरहेको देखिन्छ। हामी सबैले जेन–जीले देखाएको सपनाको बाटोमा अघि बढ्नुपर्छ।”