नेभिगेशन
राजनीति

राजसंस्था समर्थकद्वारा शनिबार बृहत मोटरसाइकल र्‍याली, छठपछि निर्णायक आन्दोलनको घोषणा

राजसंस्थाको पुनर्स्थापनाका पक्षमा रहेका समूहले शनिबार काठमाडौंमा बृहत मोटरसाइकल र्‍याली आयोजना गर्ने भएका छन्। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले राजसंस्थाको समर्थन र वर्तमान सरकारविरुद्ध दवाब सिर्जना गर्नका लागि र्‍यालीको आयोजना गरिएको जानकारी दिएका हुन्। साथै, उनीहरुले आगामी छठ पर्वपछि निर्णायक आन्दोलन सुरु गर्ने चेतावनी पनि दिएका छन्।

कार्यक्रमका वक्ता सन्तोष राजावादीका अनुसार, शनिबार दिउँसो ठ्याक्कै १२ बजे सामाखुसी चोक र एकान्तकुनाबाट सुरु हुने बाइक र्‍याली नारायणहिटी दरबारसम्म पुग्नेछ। उनले भने, “अहिलेको सरकारलाई दबाब दिन र राजसंस्थाको पक्षमा जनमत देखाउन शनिबार बाइक र्‍यालीको आयोजना गरेका हौं। छठपछि भने निर्णायक आन्दोलनको तयारी भइरहेको छ।”

राजावादीले अहिले आम जनतामाझ राजसंस्था फर्कनुपर्छ भन्ने भावना तीव्र बनेको दाबी गरे। उनले अन्तरिम सरकार, राजनीतिक दल र नयाँ पुस्ताले यो सन्देश समयमै बुझ्नुपर्ने आवश्यकता औंल्याए।

उनका अनुसार, “असली जेन–जी पुस्ता पीडामा छ, अन्यायमा परेका छन्, तर सरकार उनीहरुको न्यायका पक्षमा छैन। बरु आफ्ना मान्छे र विदेशी एजेण्टहरुलाई सत्तामा ल्याउन खेलमा लागेको छ,” राजावादीले आरोप लगाए।

आन्दोलनका तयारीका क्रममा उनले व्यापारी दुर्गा प्रसाईँ, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेता धवल शमशेर र राष्ट्रिय शक्ति पार्टीका अध्यक्ष केशरबहादुर विष्टलगायत नेताहरुसँग भेटवार्ता भएको जानकारी दिए।

पत्रकार सम्मेलनमा अर्जुन राणा, सरीता केसी, गणेश भट्टराई, दशरथ भण्डारीलगायत राजावादी नेताहरुको उपस्थिति रहेको थियो।


WhatsApp-Image-2025-10-17-at-21.58.09_76f06949-1760749699.jpg

WhatsApp-Image-2025-10-17-at-21.58.09_6cc22907-1760749694.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्