नेभिगेशन
राजनीति

ओलीको अहंकार र लेखकको कमजोरीले जेन–जी आन्दोलनमा ठूलो क्षति: नेविसंघ अध्यक्ष दुजाङ शेर्पा

नेपाली कांग्रेससँग सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले जेन–जी आन्दोलनका क्रममा उत्पन्न अराजकता र हिंसाको जिम्मेवारी दुवै पक्षले लिनुपर्ने बताएका छन्। उनले आन्दोलनमा अराजकता मच्चाउने तथा गोली चलाउने आदेश दिने दुवै पक्षलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै शेर्पाले भने, “नेविसंघको स्पष्ट धारणा छ — अराजकता फैलाउने र गोली चलाउन आदेश दिनेहरू दुबै कानूनी कठघरामा उभिनुपर्छ।”

शेर्पाले काठमाडौं महानगरका प्रमुख बालेन शाहमाथि पनि आरोप लगाउँदै भने, “बालेनले ती अवोध बालबालिकाको मनमा ‘सिंहदरबार जलाउनुपर्छ’ भन्ने सोच भरिदिए। हिंसाबाट मात्रै क्रान्ति सम्भव छ भन्ने मानसिकता युवाहरूमा बालेनले जगाएका छन्।” उनले बालेनको भूमिकामाथि छानबिन गर्नुपर्ने माग पनि गरे।

त्यस्तै, ‘हामी नेपाल’ संस्थाका संस्थापक सुधन गुरुङमाथि पनि उनले प्रश्न उठाए। गुरुङले राष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रहरी प्रशासनसम्मलाई खुला चुनौती दिइरहेको भन्दै शेर्पाले भने, “यदि गृह प्रशासनले जेन–जीको नाममा भइरहेको अराजकता नियन्त्रण गर्न सकेन भने नेविसंघ स्वयं नियन्त्रणको जिम्मा लिन बाध्य हुनेछ।”

उनले थपे, “सिंहदरबार जलाउन आह्वान गर्ने व्यक्ति छानबिनको दायरामा पर्नुपर्छ। सुधन गुरुङ खुलेआम राष्ट्रपतिलाई, प्रधानमन्त्रीलाई र प्रहरी प्रमुखलाई चुनौती दिइरहेका छन्। यस्तो अराजकतापूर्ण गतिविधि सह्य छैन।”

अध्यक्ष शेर्पाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र तत्कालीन गृहमन्त्री रमेश लेखकको नालायकपनका कारण जेन–जी आन्दोलनमा ठूलो जनधनको क्षति भएको दाबी गरे। उनले चेतावनी दिँदै भने, “यदि विध्वंशकारी र गोली चलाउने दुवै पक्षमाथि कानूनी कारबाही भएन भने नेविसंघ कलम छोडेर मसाल बोकेर अगाडि बढ्न बाध्य हुनेछ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्