नेभिगेशन
राजनीति

जेनजीहरुकोबीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ :मन्त्री पुन

काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन–जी पुस्तालाई गुटबन्दी र खुट्टा तानातानबाट टाढा रहन आग्रह गरेका छन्। उनले राष्ट्रिय हित र देशको विकासका लागि एकता आवश्यक रहेको बताउँदै सामाजिक सञ्जालमार्फत सन्देश दिएका हुन्।

मन्त्री पुनले लेखेका छन्, “राष्ट्रिय हितका लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाइदा होइन, अझ बढी नोक्सान हुन्छ। त्यसैले देशको विकास र सार्वभौमसत्ताको रक्षाका लागि गुटबन्दी नगरौं भन्ने मेरो विनम्र अनुरोध जेन–जी पुस्तासहित सबै देशप्रेमी नेपालीलाई हो।”

उनले इतिहासबाट पनि गुटबन्दी र आन्तरिक द्वन्द्वले कसरी देशलाई कमजोर बनाएको सिक्नुपर्ने उल्लेख गरे।

पुनका अनुसार जेन–जी पुस्तामा सुशासन स्थापनाको र भ्रष्टाचार अन्त्यको तीव्र चाहना छ, तर त्यो लक्ष्य हासिल गर्न एकता अत्यावश्यक छ। उनले भने, “तपाईंहरू देशमा सुशासन ल्याउन र भ्रष्टाचार उन्मूलन गर्न चाहनुहुन्छ, नेपाललाई समृद्ध बनाउन सपना देख्नुभएको छ। तर त्यही उद्देश्य सफल बनाउन तपाईंहरूबीचको एकता अपरिहार्य छ।”

उनले हाल जेन–जी पुस्तामाझ पनि गुटबन्दी र खुट्टा तानातानको प्रवृत्ति हावी हुँदै गएको भन्दै चेतावनी दिए। “मातृभूमिको अस्तित्वका लागि विनम्र अनुरोध गर्छु — नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास दोहोर्याउनु हुँदैन,” मन्त्री पुनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्