भूतपूर्व सैनिकहरूले जेन–जी आन्दोलनका क्रममा नेपाली सेनाले गरेको कार्य र कारबाहीको विषयमा विस्तृत समीक्षा गरेका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तर्क्रिया कार्यक्रममा अवकाशप्राप्त सैनिक अधिकारीहरूले सेनाको भूमिका, जिम्मेवारी र आरोप–प्रत्यारोपबारे आफ्ना विचार व्यक्त गरे।
समीक्षा कार्यक्रममा पूर्व उपरथी राजेन्द्र थापा, पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यात, पूर्व सहायक रथी भरतबहादुर रायमाझी, अवकाश प्राप्त सेनानी थमनबहादुर बस्नेत, वासुदेव अधिकारी लगायतको उपस्थिति थियो।
भूतपूर्व सैनिक हेमशंकर गिरीले भदौ २३ र २४ गतेको घटनामा सेनाले बल प्रयोग नगरेकै कारण देश सुरक्षित मार्गतर्फ अघि बढेको बताए। उनले नेपाली सेनामाथि अनावश्यक आरोप लगाउनेहरूले आत्मसमीक्षा गर्नुपर्ने धारणा राखे।
पूर्व सहायक रथी रायमाझीले सिंहदरबार र राष्ट्रपति भवनको सुरक्षाबारे उठेका प्रश्नहरूलाई हतारमा व्याख्या नगरिन आग्रह गरे। उनले सेनामाथि लगाइएका आरोपहरू अपरिपक्व रहेको बताउँदै सेनालाई राष्ट्रको गहना भन्दै त्यसप्रति आक्षेप गर्नु अनुचित भएको टिप्पणी गरे।
अवकाशप्राप्त सैनिक सहदेव भण्डारीले गौरवशाली इतिहास बोकेको नेपाली सेनामाथि भइरहेको टीकाटिप्पणीप्रति असन्तुष्टि जनाए। “यो राष्ट्र जनता र सेनाको सहकार्यबाट बचेको हो,” उनले भने, “जनता र सेनाबीच द्वन्द्व सिर्जना गर्ने प्रयास रोकिनु आवश्यक छ।”
त्यसैगरी, पूर्व प्रमुख सेनानी जयन्द्रवीरसिंह बस्न्यातले सेनाले आन्दोलनका क्रममा गोली नचलाई बुद्धिमत्तापूर्ण निर्णय गरेको बताए। उनले भने, “त्यो दिन सेनाले संकटकाल लगाएर भ्रष्ट र अपराधीलाई कारबाही गर्न सकेको भए राम्रो हुने थियो, तर सेनाले देश र जनताको माया गर्दै संयम देखायो।”
अवकाशप्राप्त सेनानी वासुदेव अधिकारीले सेनाले त्यस आन्दोलनका क्रममा धेरैको ज्यान जोगाएको भन्दै राष्ट्रहितमा लेख्दा र बोल्दा सावधानी अपनाउन सबैलाई आग्रह गरे।
पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यातले जेन–जी आन्दोलनमा सेनाले राष्ट्रका लागि काम गरेको स्पष्ट गर्दै भने, “नेपाली सेनाले कुनै पनि युवा–युवतीको रगत बगाएको छैन, बरु नेपाल र नेपालीको रगत जोगाएको छ।” उनले सेनालाई देश निर्माण र सुरक्षा गर्ने संस्था बताउँदै केही राजनीतिक तत्वहरूले सेनाको बदनाम गर्ने प्रयास गरिरहेको आरोप लगाए।
उनका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले “सेनाले मेरो सत्ता खायो” भन्ने सन्देश पठाएको दाबीसमेत गरे। ओलीलाई उनले ‘जेलमा बसेको भाइनाइकेको संज्ञा’ दिँदै सेनालाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोज्ने नेताहरूलाई चेतावनी दिए। उनले भने, “सेना कुनै पनि नेताको दास होइन, राष्ट्रिय सुरक्षाको संस्था हो।”