काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनको मूल एजेण्डा छोडेको आरोप लगाएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री कार्की अब जेन–जी आन्दोलनका मुद्दाबाट टाढा गएकी भन्दै आन्दोलनकारीहरूले उनलाई ‘गेटआउट’ भन्नुपर्ने सुझाव दिएका हुन्।
डा. दीक्षितका अनुसार प्रधानमन्त्री कार्कीले आफू केवल चुनाव गराउने सरकार भएको अभिव्यक्ति दिँदै आन्दोलनको प्रमुख माग — शासकीय स्वरूप परिवर्तन — लाई बेवास्ता गरेकी छन्। “प्रधानमन्त्रीले शासकीय स्वरूप परिवर्तन गर्न सक्दिनँ भनेपछि उनको पदमा बस्ने नै औचित्य छैन,” उनले भने।
उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका नाममा जनतालाई धोका दिएको जस्तै अहिलेको जेन–जी आन्दोलन पनि दिशाहीन भएको टिप्पणी गरे। “१७ हजार मानिस मारेर पनि जनतालाई फाइदा नदिएका प्रचण्डजस्तै, यो आन्दोलन पनि अन्ततः धोका बन्न गएको छ,” डा. दीक्षितले भने।
डा. दीक्षितले काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) लाई जेन–जी आन्दोलनबाट लाभ भएको दाबी गरे। उनका अनुसार बालेनले समर्थन गरेका व्यक्तिहरू अहिले प्रधानमन्त्री र कानूनी सल्लाहकारका रूपमा सत्तामा पुगेका छन्। उनले भने, “जेन–जी आन्दोलनले देशलाई राजनीतिक अस्तव्यस्तता र अस्थिरतामा धकेल्यो, तर जनताले केही पाएका छैनन्।”
उनले अहिलेको परिस्थितिमा चुनावमा गएमा पुरानै नेताहरू पुनः सत्तामा फर्किने र आन्दोलनका लक्ष्यहरू समाप्त हुने चेतावनी दिए। “यदि चुनाव यही अवस्थामै भयो भने, जेन–जी लगायत सबै आन्दोलन समाप्त हुन्छन्,” उनले भने।
डा. दीक्षितले जेन–जी आन्दोलनको एजेण्डा जोगाउन सरकारमा जेन–जी पक्षलाई तीन मन्त्रालय र सेनाले सिफारिस गरेका दुई जना व्यक्तिलाई पनि मन्त्री बनाउनु पर्ने सुझाव दिए। उनले अहिलेको सरकारले शान्ति–सुरक्षा सुनिश्चित गर्न असफल भएको आरोप समेत लगाए।
संसदीय व्यवस्था पूर्ण रूपमा असफल भइसकेको दाबी गर्दै उनले कार्यकारी प्रधानमन्त्री प्रणालीको आवश्यकता औंल्याए। “अब यही संसदीय प्रणालीमा चुनावमा जानु घातक हुनेछ। कार्यकारी प्रणालीमा गएर सानो संसद् बनाउनेतर्फ अघि बढ्नुपर्छ,” उनले भने। साथै, आगामी निर्वाचनमा मिडिया स्वतन्त्रता पनि ठूलो जोखिममा पर्ने चेतावनी दिए।