नेभिगेशन
राजनीति

राष्ट्रिय युवा संघको सरकारलाई अल्टिमेटमः आइतबारसम्म बाइक र्‍याली अनुमति नदिए सडकमा उत्रिने चेतावनी

काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले सरकारलाई २४ घण्टाभित्र मोटरसाइकल र्‍याली गर्न अनुमति दिन अल्टिमेटम दिएको छ। संघका अध्यक्ष क्षितिज थेबेले आगामी आइतबारसम्म अनुमति नदिए सरकारविरुद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।

अध्यक्ष थेबेले भने, “आइतबार हामीलाई शान्तिपूर्ण बाइक र्‍याली गर्न दिइएन भने, सरकारले विधिको शासनलाई कमजोर ठानिरहेको अर्थ लाग्नेछ। त्यस अवस्थामा हामी सडकमा उत्रनेछौं, र त्यो रोक्ने सामर्थ्य सरकारसँग हुनेछैन।”

उनका अनुसार भोलि (शनिबार) गर्न तय गरिएको बाइक र्‍याली रोक्नु सरकारको नागरिकको मौलिक हकमा हस्तक्षेप हो। उनले भने, “शान्ति र नागरिकको सुरक्षाका लागि गर्न लागिएको र्‍याली रोकेर सरकारले लोकतन्त्रको मर्यादा मिचेको छ।”

थेबेले शान्तिपूर्ण प्रदर्शन नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै सरकारले अधिनायकवादी र निरङ्कुश प्रवृत्ति देखाएको आरोप लगाए। उनले भने, “सरकार अधिनायकवाद र निरङ्कुशतातर्फ उन्मुख भइरहेको छ। लोकतन्त्र र विधिको शासनको रक्षा गर्न हामी निरन्तर आवाज उठाउँछौं।”

अध्यक्ष थेबेले संघले कानूनी राज्य र सुशासनमा आस्था राख्ने संगठन भएको स्पष्ट गर्दै सरकारलाई आफ्नो संयमलाई कमजोरी नठान्न आग्रह गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्