नेभिगेशन
राजनीति

जेन-जीलाई गिरफ्तार गर्ने र दुःख दिने काम नगर्न सरकारलाई ऋषि धमलाको चेतावनी

रिपोर्टर्स क्लब नेपालका सभापति तथा प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न आग्रह गरेका छन्। रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा उनले जनताले दिएको म्यान्डेटअनुसार जुनसुकै दलका ठूला नेताहरूमाथि पनि कारबाही हुनुपर्ने बताए।

धमलाले भने, “भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ। चुनौती जे आए पनि पछि हटिँदैन। जुनसुकै पार्टीका ठूला नेता भए पनि अब भ्रष्टहरुलाई छोड्न पाइँदैन। जनताको आदेश यही हो।”

त्यस्तै, उनले सरकारले जेन–जी पुस्ताको मागलाई बेवास्ता गर्न नहुनेमा जोड दिए। जेन–जीलाई गिरफ्तार गर्ने, धरपकड गर्ने वा दुःख दिने कार्य तत्काल रोक्नुपर्ने भन्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई सचेत रहने सुझाव दिए। उनका अनुसार जेन–जी पुस्ताले समाजमा रुपान्तरण ल्याइसकेको छ र अब त्यसलाई साथ लिएर अघि बढ्नुपर्छ।

धमलाले वर्तमान सरकार संसद्मार्फत नभई जेन–जी आन्दोलनको जगमा बनेको दाबी पनि गरे। जनमतभन्दा ठूलो शक्ति अरु केही नहुने भन्दै उनले दलगत सीमाभन्दा माथि उठेर जनताको भलाइका लागि सरकारलाई काम गर्न आग्रह गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्