काठमाडौं । नेपाली कांग्रेससँग सम्बन्धित विभिन्न संगठनका युवाहरुले आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीसहित सबै राजनीतिक दल सहभागी हुनुपर्ने माग गरेका छन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दललगायतका पूर्व पदाधिकारीहरुले आसन्न निर्वाचनमा दलहरुले अवश्य भाग लिनुपर्ने आवश्यकता औंल्याएका छन्।
युवाहरुले आगामी आम निर्वाचनमा कांग्रेसले कम्तीमा ४० प्रतिशत उम्मेदवार युवा बनाउने व्यवस्था गर्नुपर्ने र स्वच्छ छवि तथा क्षमता भएका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने माग पनि गरेका छन्। त्यस्तै, पार्टीको १५औं महाधिवेशन विधानअनुसार २०८२ मंसिरभित्र सम्पन्न गर्न केन्द्रीय समितिले बैठक बोलाई तयारी गर्नुपर्ने सुझाव राखिएको छ। यदि तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न नसके केन्द्रीय समिति विघटन गरी ६ महिनाभित्र महाधिवेशन गर्ने गरी आयोजक समिति गठन गर्नुपर्ने र सो समितिका सदस्यहरुलाई महाधिवेशनमा भाग लिन नदिने व्यवस्था गर्नुपर्ने माग पनि राखिएको छ।
युवाहरुले पार्टीभित्र र बाहिर दुवै क्षेत्रमा भ्रष्टाचार उन्मूलन अभियानलाई अघि बढाउन, जेन–जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिमा निःशुल्क इन्जिनियरिङ काम सुरुवात गर्न र सहयोग उपलब्ध गराउनुपर्ने पनि बताएका छन्।
नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष तथा संविधानसभा सदस्य रञ्जित कर्णले कांग्रेस अहिले "सकिने कि सच्चिने" भन्ने निर्णायक मोडमा रहेको बताए। उनका अनुसार, पार्टीले आफूलाई सुधार्न नसकेको खण्डमा जनताले बहिस्कार गर्नेछन्। उनले भने, “अब हामीसँग समय छैन, कांग्रेसभित्र पनि ठुला परिवर्तन जरुरी छ।”
कर्णले जेन–जी आन्दोलनलाई आफूहरुको आन्दोलन पनि भएको भन्दै स्वागत गरे। उक्त पत्रकार सम्मेलनमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य केदार कार्की, नेपाल तरुण दलका पूर्व महासचिव भूपेन्द्रजंग शाही, नेविसंघका पूर्व कोषाध्यक्ष बद्री अर्याल, पूर्व उपाध्यक्ष विजुला वर्मा, पुष्पकुमार शाही, पूर्व महामन्त्री सरोजकुमार थापा, आदिवासी जनजाति महासंघका महामन्त्री मनहरि श्रेष्ठ, नेविसंघका पूर्व महामन्त्री दीपक भट्टराई, नवीन राई, मोति भण्डारीलगायतले मागप्रति ऐक्यवद्धता जनाएका थिए।
