नेपाल बुद्धिचाल महासंघ र रसियाको मस्को क्षेत्रीय चेस महासंघबीच छ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ। हस्ताक्षर समारोह रसियाको राजधानी मस्कोमा सम्पन्न भएको हो।
सम्झौतामा रसियाका सिनेटर सेर्गेइ अलेक्जान्द्रोभिच कार्जाकिन र नेपाल चेस महासंघका अध्यक्ष हेराकाजी महर्जनले हस्ताक्षर गरेका थिए। सम्झौता पश्चात दुबै पक्षबीच आधिकारिक कागजात आदानप्रदान गरिएको थियो।
यस सहमति अनुसार नेपाल र रसियाले चेसलाई आपसी मित्रता र सहकार्यको माध्यमका रूपमा प्रयोग गर्दै खेलाडी टोली आदान–प्रदान, अनुभव साटासाट, तालिम तथा प्रशिक्षण आयोजना गर्नेछन्। अनलाइनमार्फत समेत नियमित तालिम तथा प्रतियोगिता सञ्चालन गरिने उल्लेख छ।
नयाँ खेलाडी उत्पादनका लागि प्रशिक्षक तालिम, सीप अभिवृद्धि, शैक्षिक कार्यक्रम र द्विपक्षीय प्रतियोगिता आयोजना गर्ने सहमति पनि भएको छ। यस्तै चेससम्बन्धी गोष्ठी, सम्मेलन र अन्य कार्यक्रमहरू समयानुकूल सञ्चालन गरिनेछन्।
सम्झौताअनुसार, खेलाडी वा प्रतिनिधिको सहभागिता तथा कार्यक्रमका वित्तीय पक्षहरू अग्रिम सहमतिबाट तय गरिनेछन्। सम्झौता हस्ताक्षर भएसँगै लागू हुने र कुनै पनि पक्षले अन्त्य गर्न चाहेको खण्डमा ६ महिना अगावै लिखित सूचना दिनुपर्ने व्यवस्था गरिएको छ।
यो सम्झौता रुसको काल्मिकियाका राष्ट्रपति तथा क्षेत्रीय चेस महासंघका अध्यक्ष किर्सान निकोस्लाभिच इल्युमजिनोभको पहलमा सम्भव भएको महासंघका अध्यक्ष महर्जनले जनाएका छन्। महर्जनका अनुसार गौतम बुद्धको नाममा सुरु भएको चेस प्रतियोगिताको दोस्रो संस्करण रुसमा र तेस्रो संस्करण नेपालमा गर्ने सहमति समेत भएको छ।
सम्झौतामा हस्ताक्षर गरेका कार्जाकिन सन् २००२ मा १२ वर्ष ७ महिनाको उमेरमै विश्वकै कान्छा ग्रान्ड मास्टरको उपाधि प्राप्त गरेका खेलाडी हुन्। उनले नेपाली युवा खेलाडीहरूको स्तर उच्च रहेको भन्दै यो सहकार्यले थप प्रशिक्षणको अवसर उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन्।
महासंघका प्रवक्ता राजु ताम्राकारका अनुसार यसअघि पनि नेपाली खेलाडीहरूले रसियाका ग्रान्ड मास्टर अलेक्जेन्डर फोमिनि, बंगलादेशका निहाज मुर्सेद र भारतका गोविन्द बल्लभ जोशीबाट प्रशिक्षण पाइसकेका थिए। हालै पनि काजकिस्तानका जीएम मुर्ताज काजगल्यएभ र आइएम बख्तियार अस्कारोभले नेपाली टोलीलाई तालिम दिएका थिए।
सन् २०१५ देखि २०२१ सम्म पूर्व फिडे अध्यक्ष किर्सानको सहयोगमा नेपाली खेलाडीहरूले रसियामा छात्रवृत्ति पाएका थिए। त्यस अवसरबाट लाभान्वित हुनेहरूमा एफएम बिबेक थिङ, वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल र सौरभ प्रधान रहेका थिए।
प्रवक्ता ताम्राकारले नयाँ सम्झौताले फेरि छात्रवृत्तिको अवसर खुल्ने र यसले नेपाली खेलाडीहरूको स्तर उकास्न महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।