नेभिगेशन
राजनीति

पूर्वप्रहरी संगठनद्वारा मन्त्रिमण्डलमा सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको माग

काठमाडौं । पूर्व प्रहरी संगठनले मन्त्रिमण्डलमा अन्य क्षेत्रका विज्ञ समावेश भए पनि सुरक्षा क्षेत्रका विशेषज्ञ नहुनु कमजोरी भएको भन्दै सुरक्षाविद्सहितको ‘सेक्युरिटिज रिसर्च निकाय’ गठन गर्न सरकारसँग आग्रह गरेको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले जेन–जी आन्दोलनका क्रममा सुरक्षा निकाय पराजित भएको टिप्पणी गर्दै त्यसको समाधानका लागि यस्तो निकाय आवश्यक भएको जनाएको हो।

पूर्व प्रहरी संगठनका अध्यक्ष वशन्त कुँवरले सरकारले जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग ‘तपाईँहरु किन हार्नुभयो ?’ भन्ने प्रश्न उठाउनुपर्ने बताए। उनका अनुसार शासन सत्ता उल्टिने र सरकारी भवनमा आगजनीजस्ता घटना हुनुमा प्रहरी संगठनलाई कमजोर बनाइएको प्रमुख कारण हो।

उनले भने, “सुरक्षा फौज हार्छ भने पालेको किन ? सेनाको भूमिका के थियो ? सशस्त्रको के योगदान थियो ? यथार्थमा उनीहरूले आफ्नो काम गरे वा गरेनन् भन्ने प्रश्न उठाउन जरुरी छ। अहिले दल वा नेताप्रतिको रुचिभन्दा पनि राज्यको स्थायित्व ठूलो चुनौती बनेको छ। कुनै पनि सरकार लामो समय टिक्न नसक्ने अवस्थामा पुगेको छ।”

यसैबीच, पूर्व एसएसपी प्रदीप कुमार श्रेष्ठले नेपाल पूर्व प्रहरी संगठनले जेन–जी आन्दोलनप्रति समर्थन जनाउँदै, “जेन–जी पुस्ताद्वारा अघि सारिएको सुशासनको उद्देश्यलाई हामी पूर्ण समर्थन गर्छौं। आन्दोलनका कारण परिवर्तन आएको छ र नयाँ सरकार बनेको छ, यसलाई हामी सकारात्मक रुपमा लिन्छौं,” भने।

यद्यपि, आन्दोलनका क्रममा भएका सरकारी, निजी तथा व्यवसायिक सम्पत्तिमाथि तोडफोड र आगजनीप्रति संगठनले भत्र्सना गरेको छ। साथै, अपराधजन्य गतिविधि तथा लुटपाटमा संलग्नहरुलाई कानूनअनुसार कारबाही गर्न सरकारसँग माग गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्