नेभिगेशन
राजनीति

कांग्रेस इत्तर समूहद्वारा विशेष महाधिवेशनको माग, भोलिदेखि हस्ताक्षर संकलन गरिने

नेपाली कांग्रेसको संस्थापनइत्तर समूहका महाधिवेशन प्रतिनिधिहरुले पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन आह्वान गर्न माग गरेका छन्। सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टीलाई विधिसम्मत ढंगले चलाउन र नयाँ ऊर्जासहित पुनर्जीवन दिन विशेष महाधिवेशन नै एक मात्र विकल्प भएको बताएका छन्।

प्रतिनिधिहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विगतका गल्तीका लागि देशवासी, समर्थक र शुभेच्छुकसँग क्षमा माग्दै भविष्यको बाटो तय गर्न विशेष महाधिवेशनबाहेक अर्को विकल्प छैन। देश र पार्टीको वर्तमान अवस्थाले पनि यही माग गरिरहेको छ। त्यसैले हामी सबैलाई यस अभियानमा जोडिन आह्वान गर्छौं।”

उनीहरुले देशभरका करिब १ हजार १ सय प्रतिनिधिसँग सम्पर्क भएको र अधिकांशले छिटो विशेष महाधिवेशन प्रक्रियामा जानुपर्ने आवश्यकता औंल्याएको जानकारी दिएका छन्।

पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले विधानअनुसार ४० प्रतिशत हस्ताक्षर बुझाएर केन्द्रीय समितिलाई दवाब दिने तयारी भइरहेको बताए। उनका अनुसार, “नेतृत्व परिवर्तनको समय आएको छ। वर्षौंदेखि हामीले आवाज उठाउँदा पनि सुनुवाइ भएन। अब देखाउन सकिने अनुहार र जनताले विश्वास गरेका नेतृत्वलाई अघि ल्याउनुपर्छ।” उनले दशैं भित्रै हस्ताक्षर संकलन गरेर विशेष महाधिवेशनतर्फ पार्टीलाई लैजाने योजना पनि खुलाए।

त्यसैगरी, कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले ७५ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर जुटाएर विशेष महाधिवेशन बोलाउने तयारी भइरहेको बताए। उनका अनुसार, करिब ४ हजार ८ सय प्रतिनिधिमध्ये ३ हजारभन्दा बढीको समर्थन जुटाएर यही पूर्णिमाको आसपास विशेष महाधिवेशनको घोषणा गरिने छ।

WhatsApp-Image-2025-09-22-at-22.50.31_2dfeb577-1758618447.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्