नेभिगेशन
सलिमा

मिसेस मंगोल नेपालको ताज टिनालाई

काठमाडौं।
राजधानीमा सम्पन्न मिसेस मंगोल नेपाल–२०२५ मा टिना आले कवर मगरले विजयी हुँदै ताज पहिरिन सफल भएकी छन्। निर्णायक प्रश्नको सटिक उत्तर दिएपछि उनले चाँदीबाट बनेको ताजसहित सन् २०२६ मा लण्डनमा हुने एन.एफ.इ.ए अवार्ड का लागि इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी हुन्।

प्रतियोगितामा संगीता राना मगर फर्स्ट रनरअप र शान्ति गुरुङ सेकेन्ड रनरअप बने। शनिबार ज्यापु प्रज्ञा भवनमा सम्पन्न प्रतियोगिता मिसेस मंगोल श्रृंखलाको ११औं संस्करण थियो, जसलाई हिमालयन मुभिजले आयोजना गरेको हो।

यो प्रतियोगिता मंगोलियन समुदायका विवाहित महिलालाई लक्षित गरी आयोजना गरिने राष्ट्रियस्तरको सांस्कृतिक सौन्दर्य प्रतियोगिता हो। फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा दर्जनभन्दा बढी प्रतिस्पर्धीले व्यक्तित्व विकास, क्षमता अभिवृद्धि, स्टेज प्रजेन्टेसन र सांस्कृतिक मूल्य–मान्यताबारे तालिम लिएका थिए।

कार्यक्रममा प्रतियोगीहरूले सुन्दर ओपनिङ, डान्स तथा आफ्ना जातीय नृत्य प्रस्तुत गरेका थिए। सांस्कृतिक परिधानमा सजिएका सहभागीहरू आ–आफ्ना परम्परागत पोशाकमा आकर्षक देखिएका थिए। आधुनिक परिवेशलाई प्रतिबिम्बित गर्ने फ्युजन थिममा बेस्ट ड्रेस प्रस्तुति दिँदै उनीहरूले अन्तिम चरणमा कल्चरल फ्लेवर सहितको इभिनिङ गाउनमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।

कार्यक्रममा पप गायक धिरज राईको प्रस्तुतीमा दर्शक रमाएका थिए। अधिकांश दर्शक पनि सांस्कृतिक पोशाकमै सहभागी हुँदा कार्यक्रमको रौनक झन् बढेको थियो।

यस संस्करणमा विभिन्न सब–टाइटल वितरण गरिएको थियो। तीमध्ये मोस्ट इन्टेलिजेन्ट टिना आले कवर मगर, मोस्ट डाइनामिक मौसमी गुरुङ, मोस्ट कन्फिडेन्ट संगीता रानामगर, मोस्ट डेडिकेटेड सरीता श्रेष्ठ, मोस्ट डिलिजेन्ट अनिता राई, मोस्ट स्मार्ट लक्षिता गुरुङ, मोस्ट डिसेन्ट सृजनादेवी श्रेष्ठ, मोस्ट एक्टिभ भावना घले, मोस्ट ग्रेसफुल प्रियतम सुब्बा, मोस्ट प्यासोनेट शान्ति गुरुङ, मोस्ट डिलाइटफुल सिता गुरुङ, बेस्ट ट्यालेन्ट धनु लिम्बु, बेस्ट फोटोजेनिक सजिना तामाङ, बेस्ट ड्रेस टिना आले कवर मगर, बेस्ट मल्टिमिडिया मौसमी गुरुङ र मोस्ट पपुलर सिता गुरुङ घोषित भए।

निर्णायक मण्डलमा अभिनेता तथा चलचित्रकर्मी रमेश उप्रेती, कस्मेटोलोजिस्ट रेखा थापा मगर, मिसेस हिमालयन नेपाल–२०१४ अनिता गुरुङ, मिसेस मंगोल नेपाल २०२२ सम्झना तामाङ र मिसेस ग्लोबल नेपाल–२०२५ तथा बैंकर इन्दिरा घिमिरे रहेका थिए।

आयोजकका अनुसार, यो प्रतियोगिता मंगोलियन समुदायका लोपोन्मुख कला, संस्कृति, भेषभूषा र भाषाको संरक्षण र प्रवर्द्धनसँगै महिलाको क्षमता र प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको हो।

Photo-(2)-(2)-1758449289.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्