नेभिगेशन
राजनीति

चाडबाड लक्षित यातायात व्यवस्थापनमा मन्त्री घिसिङको ७ बुँदे निर्णय : सुरुङमार्ग, सुरक्षा, सडक सुधारदेखि कन्ट्रोल रुमसम्म

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले यातायात व्यवस्थापन र सडक सुरक्षाबारे शनिबार सरोकारवालासँग विशेष बैठक गरेका छन्।

बैठकमा मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारी सहभागी थिए।

मन्त्री घिसिङले यात्रुहरूको गुनासो सुन्न र सडक अवस्थाबारे २४ घण्टा जानकारी दिने व्यवस्था मिलाउन निर्देशन दिए। साथै, पहिरो वा अन्य कारणले सडक अबरुद्ध भए तत्काल पुनः सञ्चालनमा ल्याउने तयारी गर्न सम्बन्धित निकायलाई आदेश दिएका छन्।

सात बुँदे निर्णयहरू

  1. नागढुंगा–सिस्नेरी सुरुङ मार्ग प्रयोग : दशैं अवधिमा उपत्यकाबाट बाहिरिने सार्वजनिक सवारी साधन सुरुङमार्ग प्रयोग गर्ने, र दशैंपछि ती सवारी उपत्यकामा प्रवेश गर्न सक्ने व्यवस्था मिलाउने।

  2. सुरक्षा व्यवस्था कडाइ : नयाँ बसपार्क र प्रमुख राजमार्गमा प्रहरी गस्ती तथा संख्या बढाउन गृहमन्त्रालयमार्फत नेपाल प्रहरीलाई निर्देशन दिने।

  3. ठूला मालवाहक सवारी नियन्त्रण : बुटवल–नारायणगढ सडकखण्ड (दाउन्ने) मा दशैं अवधिभर १२ चक्के वा त्यसभन्दा ठूला मालवाहक सवारी सञ्चालन रोक्ने, तर खाद्यान्नजस्ता अत्यावश्यक सामग्री ढुवानी गर्ने गाडीलाई निरन्तर सञ्चालन गर्ने।

  4. सडक सुधार तथा स्तरोन्नति : मुख्य राजमार्ग सुचारु राख्ने, पहिरो नियन्त्रण सामग्री र उपकरण तयारी गर्ने, बुटवल–नारायणगढ खण्ड २४ घण्टा दुईतर्फी चलाउने, नारायणगढ–मुग्लिन सडकको तुइन खोलामा भएको अवरोध हटाउने, र तातोपानी नाका जोड्ने सडक दशैंअघि सञ्चालनमा ल्याउने निर्देशन।

  5. सार्वजनिक सूचना जारी : नागरिकलाई मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गर्ने।

  6. निर्देशिका तयार : सार्वजनिक यातायात सुरक्षित र प्रविधिमैत्री बनाउन कार्यविधि तथा निर्देशिका तयार गरी यातायात व्यवस्था विभागमार्फत मन्त्रालयमा पेश गर्ने।

  7. कन्ट्रोल रुम सञ्चालन : देशभरको सडक अवस्था र सुरक्षाबारे २४ घण्टा सूचना दिने, फोकल पर्सनसहित कन्ट्रोल रुम सञ्चालन गर्ने।

Photo-(1)-(3)-1758369641.jpg
Photo-(4)-1758369638.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्