नेभिगेशन
विदेश

अमेरिका–चीन सम्बन्ध विश्व शान्ति र समृद्धिका लागि महत्वपूर्ण : राष्ट्रपति सी

चीनका राष्ट्रपति सी चिनफिङले अमेरिका र चीनले सहकार्य गरेर अघि बढे दुवै देश मात्र नभई विश्व नै लाभान्वित हुने बताएका छन्। उनले आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक फाइदामा आधारित सहकार्यले साझा समृद्धि सम्भव हुनेमा जोड दिए।

शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको टेलिफोन वार्तामा सीले द्विपक्षीय सम्बन्ध र साझा चासोका विषयमा गहन छलफल भएको बताए। उनले दोस्रो विश्वयुद्धताका चीन–अमेरिका सहकार्यको स्मरण गर्दै, शान्तिको मूल्य बुझ्दै भविष्यतर्फ मिलेर अघि बढ्न दुवै पक्षले हातेमालो गर्नुपर्ने धारणा राखे।

वार्ताका क्रममा राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्धको रणनीतिक महत्व औंल्याउँदै हालै सम्पन्न परामर्शहरूले समानता, आपसी सम्मान र साझा फाइदाको भावनालाई थप स्पष्ट पारेको बताए। उनले एकतर्फी व्यापारिक प्रतिबन्धबाट टाढा रहन अमेरिकालाई आग्रह गर्दै टिकटक विवादमा चीनको धारणा पुनः प्रस्तुत गरे। साथै, अमेरिकी बजारमा चिनियाँ लगानीकर्तालाई निष्पक्ष र गैरभेदभावपूर्ण वातावरण दिनुपर्ने मागसमेत गरे।

उता, अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले युद्ध विजयको ८०औं वार्षिकोत्सवमा आयोजना गरेको सैनिक परेडको प्रशंसा गर्दै त्यसलाई “अद्भुत र सुन्दर” भने। उनले अमेरिका–चीन सम्बन्धलाई विश्वकै सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धका रूपमा व्याख्या गरे। ट्रम्पले आर्थिक तथा व्यापारिक सहकार्य बढाउने, टिकटक विवाद समाधानका लागि छलफललाई निरन्तरता दिने र विश्व शान्तिका लागि चीनसँग सहकार्य गर्न आफू तयार रहेको पनि बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्