नेभिगेशन
राजनीति

प्रवेश दाहाल : “जेन–जीका माग तुरुन्त सम्बोधन गरिनुपर्छ, देश परिवर्तनको मोडमा छ”

जेन–जी आन्दोलनका अगुवा प्रवेश दाहालले आन्दोलनले अघि सारेका मागहरू तत्काल पूरा गर्नुपर्ने चेतावनी दिएका छन्। संविधान दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष अन्तर्वार्तामा बोल्दै उनले युवाहरूको बलिदानीलाई खेर फाल्ने काम अस्वीकार्य हुने बताए।

दाहालले शहीदले देखेको सपना पूरा गर्नुपर्ने आवश्यकता औंल्याउँदै आवश्यक परे घाइते वा शहीद हुन आफू तयार रहेको स्पष्ट गरे। मुलुक अहिले शून्यताको स्थितिमा रहेको उल्लेख गर्दै उनले स्थिरताको दिशामा अघि बढ्नुपर्ने बताए। “देश परिवर्तनको चाहनामा छ, हामी प्रजातन्त्रको पक्षधर हौं,” उनले जोड दिए। सो क्रममा उनले आगामी चार–पाँच दिन मिडियामा नदेखिने प्रतिबद्धता पनि जनाए।

उनको भनाइमा, युवाहरूको बलिदानीले ल्याएको परिवर्तनलाई बौद्धिक वर्गले साथ दिनुपर्नेछ। संविधान तत्काल संशोधन गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने र आन्दोलनको क्रममा दमन गर्ने तत्कालीन सरकारलाई कारबाही गर्नुपर्ने जस्ता माग पनि उनले प्रस्तुत गरे।

त्यस्तै, प्रदेश व्यवस्था खारेजी, २०४७ सालपछि सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन, भ्रष्टाचारबाट आर्जित सम्पत्ति राज्यको नाममा ल्याउने, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति रोक्ने, विश्वविद्यालय स्ववियु र विद्यार्थी संगठन हटाउने तथा मन्त्रीमा विशेषज्ञ टोली नियुक्त गर्ने जस्ता थप मागहरू पनि उनले सार्वजनिक गरे।

दाहालले आन्दोलनकारीलाई जेल हाल्ने सरकारी प्रयासलाई अस्वीकार गर्ने चेतावनी दिँदै, यही आन्दोलनकै कारण मुलुकमा नयाँ पद्धति आउन थालेको बताए। “जेन–जी आन्दोलनलाई नेपाली जनताले साथ दिएका छन्, यसको मर्मलाई आत्मसात् गर्नुपर्छ,” उनले भने।

WhatsApp-Image-2025-09-20-at-10.31.58_7f8a874c-1758328520.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्