काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले वर्तमान अन्तरिम सरकार जनअपेक्षा अनुरूप काम गर्न र राष्ट्रिय एजेण्डा आत्मसात गर्न प्रतिबद्ध रहेको बताएकी छन् ।
संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पारदर्शी शासन, कानूनी समानता, सुशासन, भ्रष्टाचार अन्त्य र विकासजस्ता मुद्दा सबै पुस्ताका साझा आकांक्षा भएको भन्दै सरकार ती एजेण्डालाई व्यवहारमा उतार्ने पक्षमा रहेको स्पष्ट पारिन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, “सूचना प्रविधिको विकाससँगै नागरिकमैत्री शासन प्रणालीबारे सचेत युवा पुस्ताले उठाएका प्रश्न— रोजगारी, जीवनस्तर, पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य र सुशासन—हाम्रो साझा राष्ट्रिय एजेण्डा हुन् । यी एजेण्डालाई आत्मसात गर्दै सरकार जनअपेक्षा पूरा गर्ने प्रतिबद्धतामा छ ।”
उनले पदप्राप्तिको लोभका कारण नभई देश संकटपूर्ण अवस्थामा पुगेको बेला युवाको आग्रहअनुसार अन्तरिम व्यवस्थापनका लागि प्रधानमन्त्री बनेको उल्लेख गरिन् । उनका अनुसार संविधानको प्रावधानअनुसार छ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ ।
उनले थपिन्, “शासकीय आकांक्षा वा पदको लोभका कारण म प्रधानमन्त्री भएकी होइन । देश संकटमा रहेको बेलामा संक्रमण व्यवस्थापनका लागि युवाको अनुरोधका आधारमा प्रधानमन्त्री बनेकी हुँ ।”
कार्कीले समयसँगै नागरिकका अपेक्षा र आवश्यकता बदलिने भएकाले राज्य निरन्तर सुधारको बाटोमा हिँड्नुपर्नेमा जोड दिइन् । साथै उनले संविधानको मर्मअनुसार स्वतन्त्र र सक्षम न्यायपालिका, कानूनी राज्य र सुशासन जस्ता लोकतान्त्रिक मूल्यमा खरो उत्रिन नसक्नु नै वर्तमान अवस्थाको परिणाम भएको टिप्पणी गरिन् ।
-(2)-1758285051.jpg)
-1758285054.jpg)
-1758285049.jpg)