गाजा सिटीमा भइरहेको इस्रायली भूमिगत आक्रमणका कारण पछिल्ला दुई दिनमै करिब ४८ हजार मानिसहरू आफ्नो बासस्थान छाड्न बाध्य भएको संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओचा) ले जनाएको छ।
ओचाका अनुसार अगस्टको मध्यदेखि सोमबारसम्म कुल १ लाख ९० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। यातायात खर्च महँगो भएकाले धेरैले नौ घण्टासम्म पैदल यात्रा गर्नुपरेको छ। महिलाहरू, वृद्ध, घाइते बालबालिका लगायतका परिवार तातो मौसममा नाङ्गो खुट्टा हिँडिरहेको उल्लेख गरिएको छ।
यसबीच, ओचाका साझेदार संस्थाहरूले १ हजार ५ सयभन्दा बढी प्रभावित व्यक्तिलाई मनोसामाजिक सहयोग, पानी र स्वास्थ्य सेवाजस्ता आपतकालीन सहायता उपलब्ध गराएको पनि जनाइएको छ। तीमध्ये ९ सयभन्दा बढी बालबालिका रहेका छन्।
इजरायली सेनाले गाजा सिटीलाई ‘खतरनाक युद्ध क्षेत्र’ घोषणा गर्दै बासिन्दालाई दक्षिण र केन्द्रीय गाजाका भीडभाड भएका ‘मानवीय क्षेत्र’ तर्फ सर्न आग्रह गरेको छ। तर, ती क्षेत्रमा समेत निरन्तर वायु आक्रमण र बमबारी भइरहेकाले ठूलो संख्यामा नागरिक हताहत भएको छ।
विस्थापितमध्ये एक जना, आला इस्माइलले भने, “हामीसँग पैसा छैन, बाबुको स्वास्थ्य कमजोर छ। गाजामा कतै सुरक्षित छैन, आज सडकमै रात काट्नुपर्नेछ।” अर्का विस्थापित खलिल मतारले भने, “‘सुरक्षित क्षेत्र’ भनेर घोषणा गरिएका स्थानहरू पनि जब इस्रायल चाहन्छ, आक्रमणको निशाना बन्छन्।”
गाजाको सञ्चार कार्यालयका अनुसार दक्षिण गाजाको अल–मवासी क्षेत्रमा हालसम्म करिब ८ लाख मानिस जम्मा भइसकेका छन्। तर, त्यही क्षेत्रमा इजरायली आक्रमणबाट २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ र १०९ भन्दा बढी आक्रमण भएका छन्। यसलाई नै इजरायलले ‘मानवीय क्षेत्र’ घोषणा गरेको हो।
-1758109560.png)