नेभिगेशन
विदेश

मोदीको ७५औं जन्मदिन : विकास कार्यक्रम र राहुलको ‘हाइड्रोजन बम’ घोषणाले भारतमा हलचल

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज (सेप्टेम्बर १७) आफ्नो ७५औं जन्मदिन विशेष कार्यक्रममार्फत मनाउँदै छन्। सन् १९५० मा गुजरातको वडनगरमा जन्मिएका मोदीले यस वर्ष मध्य प्रदेशको धार जिल्लामा जन्मदिनको अवसरमा प्रमुख कार्यक्रम तय गरेका छन्।

मोदीले आज धारमा ‘प्रधानमन्त्री मित्र योजना’ अन्तर्गत देशको पहिलो मेगा टेक्सटाइल पार्कको उद्घाटन गर्नेछन्। यस परियोजनाले हजारौं युवालाई रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। यस्तै, ‘स्वस्थ नारी, सशक्त परिवार’ अभियान पनि मोदीकै हातबाट प्रारम्भ हुने कार्यक्रम रहेको छ।

उनको जन्मदिनलाई अवसर पार्दै सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले सेप्टेम्बर १७ देखि अक्टोबर २ सम्म देशभर रक्तदान, स्वास्थ्य परीक्षण, वृक्षारोपण र सरसफाइ जस्ता सामाजिक गतिविधि सञ्चालन गर्ने घोषणा गरेको छ।

यता, मोदीको जन्मदिनकै दिन भारतीय राजनीति विपक्षी कांग्रेस नेता राहुल गान्धीको नयाँ खुलासाले तातेको छ। चुनावमा धाँधली भएको दाबी गर्दै प्रमाणसहित विवरण सार्वजनिक गर्ने तयारीमा रहेका गान्धीले यसलाई ‘हाइड्रोजन बम’ नाम दिएका छन्। उनले यसअघि बैंगलोर दक्षिण लोकसभा अन्तर्गत महादेवपुरा क्षेत्रमा १ लाखभन्दा बढी मत धाँधली भएको आरोप लगाउँदै त्यसलाई ‘परमाणु बम’ भनेका थिए।

राजनीतिक विश्लेषकहरूले गान्धीको यो नयाँ खुलासा कति प्रभावशाली हुन्छ भन्ने विषयमा चासो देखाइरहेका छन्। आज भारतमा प्रधानमन्त्री मोदीको जन्मदिन र राहुल गान्धीको राजनीतिक ‘बम’ दुवै कारणले असामान्य चहलपहल देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्