नेभिगेशन
राजनीति

तुलसीपुर उपमहानगरपालिकामा आगजनीपछि त्रिपालमार्फत सेवा सुरु

जेनजी प्रदर्शनका क्रममा भएको आगजनीपछि क्षतिग्रस्त भवन प्रयोग गर्न नसकिएकाले तुलसीपुर उपमहानगरपालिकाले मंगलबारदेखि त्रिपालमार्फत सेवा प्रदान गर्न थालेको छ। नगरप्रमुख टीकाराम खड्काका अनुसार उपमहानगरपालिकाको प्राङ्गणमा टेन्ट राखेर आवश्यक सेवा सञ्चालन गरिएको हो।

उनले जानकारी दिँदै क्यान्सर, मिर्गौला लगायतका गम्भीर रोगका बिरामीलाई उपचार सिफारिस गर्ने तथा तत्काल आवश्यक पर्ने अन्य सेवा प्राथमिकताका आधारमा उपलब्ध गराइने बताए। विभिन्न सुरक्षा निकायको सहयोगमा प्राप्त टेन्टमार्फत सेवा सुरु गरिएको हो।

आगजनी र तोडफोडका कारण नोक्सान पुगेका दुईवटा पालिका भवन सफाइ भए पनि प्राविधिक परीक्षण नपुगेकाले प्रयोगमा ल्याउन नसकिएको जनाइएको छ। नगरप्रमुख खड्काले मूल्याङ्कन सकारात्मक आएपछि मर्मत गरेर भवन पुनः सञ्चालनमा ल्याइने स्पष्ट पारे।

यसैबीच, उपमहानगरपालिकाले निर्माण गरेको नौतले व्यापारिक भवनमा सिसा फुट्नु र शौचालय तोडफोडबाहेक ठूलो क्षति नभएको र भवन ठेकेदारले पालिकालाई हस्तान्तरण नगरेकाले तत्काल प्रयोगमा ल्याउन नसकिएको जानकारी दिइएको छ।

आगजनीका क्रममा उपमहानगरपालिकाका दमकलसहित २० भन्दा बढी सवारीसाधन जलेर पूर्णरूपमा नष्ट भएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्