नेभिगेशन
संस्कृति

आज विश्वकर्मा बाबाको पूजा आराधना गरी विश्वकर्मा पूजा पर्व मनाउँदै

काठमाडौं । आज विश्वकर्मा बाबाको पूजा–आराधना गर्दै देशभर विश्वकर्मा पूजा पर्व तथा वास्तु दिवस मनाइँदैछ। हरेक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिको दिन भगवान् विश्वकर्माको विधिपूर्वक पूजा गरेर यो पर्व मनाउने परम्परा रहेको छ।

विभिन्न उद्योगधन्दा तथा कारखानामा भगवान् विश्वकर्माको मूर्ति वा तस्वीरमा विशेष पूजा गर्ने प्रचलन छ। यस दिन कारीगरहरूले प्रयोग गर्ने विभिन्न औजारमा पूजा गरेपछि ती लामो समय टिक्ने, कामका क्रममा बिग्रिन नखोज्ने र राम्रो परिणाम दिने विश्वास रहिआएको छ। यही विश्वासअनुसार आजका दिन इञ्जिन जडान भएका मेसिनदेखि सवारीसाधनसम्म पूजाआजामा सहभागी गराइन्छ।

धार्मिक कथनअनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ नामक नगरी एकै रातमा निर्माण गरी कृष्णलाई सुरक्षित राखेका थिए। यही कारणले विश्वकर्मालाई सफल वास्तुविद् मानिँदै आएको र त्यस समयदेखि नै पूजा–आराधनाको परम्परा सुरु भएको धर्मशास्त्रविद्हरूको भनाइ छ।

यस्तै, वास्तुशास्त्रका लेखक र अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरूले विशेष रूपमा ‘वास्तु दिवस’ का रूपमा मनाउने गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्