नेभिगेशन
राजनीति

जेन-जी आन्दोलनका क्रममा ध्वस्त भएका संरचना निर्माणका लागि कांग्रेसमा आस्था राख्ने युवाहरुले सुरु गरे अभियान

काठमाडौं, ३१ भदौ । जेन–जी आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाको पुनर्निर्माणका लागि नेपाली कांग्रेसप्रति आस्था राख्ने युवाहरुले एक महिनाको श्रमदान र आर्थिक सहयोग संकलन अभियान सुरु गरेका छन्।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कांग्रेस महाधिवेशन प्रतिनिधि तथा शंकरदेव क्याम्पस स्ववियू सचिव मदन उपाध्यायले सरकारले पुनर्निर्माण कोष खोल्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “सरकारले कोष खोल्ने हो भने हामी सबै आस्थावान युवाले सक्दो सहयोग सोही कोषमा जम्मा गर्नेछौं।”

‘यो दशैं आफ्ना लागि मात्र होइन, देशका लागि पनि’ भन्ने नारासहित सुरु भएको अभियानअन्तर्गत ३० दिने श्रमदान कार्यक्रम समेत सञ्चालन गरिने उपाध्यायले जानकारी दिए। उनका अनुसार, देश पहिचान गराउने संरचनाको विनाशले युवाहरुलाई भावविह्वल बनाएको छ र त्यसैको प्रतिकारस्वरूप पुनर्निर्माण अभियान अघि बढाइएको हो।

कांग्रेस आस्थावान युवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अडानकै कारण वर्तमान अवस्था सिर्जना भएको दाबी गरेका छन्। तर, विषम परिस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलको सुझबुझ र नेपाली सेनाको जिम्मेवार भूमिकाले देशलाई शान्ति तर्फ डोर्याएको उनीहरुको ठहर छ। साथै, अन्तरिम सरकारले ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नुपर्ने म्यान्डेटअनुसार काम गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन्।

जारी विज्ञप्तिमा भनिएको छ, “देशको पुनर्निर्माण हाम्रो साझा संकल्प हो। त्यसका लागि एक महिना भौतिक श्रमदान र आर्थिक सहयोग अभियान सञ्चालन गर्नेछौं। साथै, कांग्रेसको भौतिक संरचना र क्षतिग्रस्त स्थानीय संरचनाको पुनर्निर्माणमा समेत सक्रिय सहभागिता जनाइनेछ।”

WhatsApp-Image-2025-09-16-at-21.53.40_c1f428b6-1758024291.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्