काठमाडौं । एनसेलले गत हप्ताको आन्दोलन र तोडफोडका घटनामा आफ्ना कार्यालयहरूमा भएको क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ। कम्पनीका अनुसार, काठमाडौंस्थित मुख्यालय ‘एनसेल आइकम’ साथै महेन्द्रनगर, धनगढी र पोखराका क्षेत्रीय कार्यालयहरूमा गम्भीर भौतिक क्षति पुगेको छ। यस घटनाले कर्मचारीहरूको सुरक्षासँगै सेवा निरन्तरतामा समेत चुनौती थपेको उल्लेख गरिएको छ।
यद्यपि, कम्पनीले चुनौतीबीच पनि ग्राहक सेवामा आफ्नो प्राथमिकता कायम राख्दै तीन दिनसम्म निःशुल्क स्थानीय भ्वाइस कल, एसएमएस र इन्टरनेट उपलब्ध गराएको जानकारी दिएको छ। एनसेलका अनुसार, नेपालमा २० वर्षदेखि दूरसञ्चार सेवा पुर्याउँदै आएको अनुभवले कम्पनीलाई संकटको घडीमा पनि सेवामा निरन्तरता दिने प्रतिबद्धतामा अडिग बनाएको हो।
नेपाल अन्तरिम सरकार गठनसँगै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै, एनसेलले युवाको अगुवाइमा भएको आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गरेको छ। कम्पनीले यो परिवर्तनले मुलुकमा शान्ति, समृद्धि र एकताको नयाँ बाटो खोल्ने विश्वास व्यक्त गरेको छ।
एनसेलले विगत दुई दशकदेखि रोजगारी सिर्जना, आर्थिक वृद्धिमा योगदान, डिजिटल नेपाल निर्माणमा सहकार्य र सूचना–सञ्चार प्रविधिमा रुपान्तरणको यात्रा अघि बढाइरहेको छ। कम्पनीले अझ दृढ संकल्पका साथ देश र जनताको सेवामा निरन्तर जुटिरहने प्रतिबद्धता दोहोर्याएको छ।
साथै, एनसेलले आफ्ना कर्मचारी, ग्राहक र समुदायबाट प्राप्त सहयोग र ऐक्यबद्धताप्रति आभार प्रकट गरेको छ। अन्त्यमा, कम्पनीले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।