अनेरास्ववियुका उपमहासचिव कमल जोशीले जेन–जी आन्दोलनका असली नेतृत्वकर्ताहरुलाई फेरि आन्दोलनमा फर्कन आह्वान गरेका छन्। सोमबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले हालको राजनीतिक घटनाक्रम जेन–जी युवाको वास्तविक भावना अनुसार नबनेको दाबी गर्दै आन्दोलनलाई फेरि सक्रिय बनाउनुपर्ने बताए।
जोशीका अनुसार, अहिले भइरहेको प्रक्रिया जेन–जीलाई दवाबमा राखेर अघि बढाइएको हो। उनले भने, “युवा जेन–जीले बोकेका लक्ष्य र उद्देश्य अत्यन्तै राम्रो थिए, तर उनीहरू आज कुनै सिनमा देखिएका छैनन्। संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी नेतृत्व होस् वा व्यवस्थामा सुधार, यी सबै माग उनीहरूकै थिए। असली जेन–जीहरुलाई म फेरि बाहिर निस्कन आग्रह गर्छु, तपाईंहरूको पछाडि हामी छौं।”
त्यस्तै, उनले मृतक परिवार र घाइतेप्रति राज्यले उपेक्षा गरेको आरोप लगाए। किरिया खर्चका नाममा एक लाख रुपैयाँ दिने सरकारी निर्णयप्रति उनले कडा आपत्ति जनाउँदै भने, “यो निर्णयले सहिदप्रति अपमान मात्र गरेको छ। दशैं–तिहारको बेला सयौं घाइते र मृतक परिवारलाई बेवास्ता गर्दै राज्य सत्तामा पुग्न चाहनेहरुको स्वार्थलाई प्राथमिकता दिएको छ। यो आन्दोलन वास्तवमा नेपालकै तेस्रो जनआन्दोलन हो।”
उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केही व्यक्तिहरुले आन्दोलनलाई आफ्नो स्वार्थका लागि प्रयोग गरेको आरोपसमेत लगाए। विशेषगरी ज्ञानबहादुर शाहीले आन्दोलनलाई बढी उचालेको भन्दै जोशीले यस्तो गतिविधिको जिम्मेवारी लिनुपर्ने धारणा राखे। साथै, आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति जलाउनेहरुमा सरकारले कठोर कारबाही गर्नुपर्ने मागसमेत गरे।